संविधान कार्यान्वयनमा सहयोग गर्छौं : सचिव गुरुङ

गोरखा । नेकपा (एमाले)का सचिव पृथ्वीसुब्बा गुरुङले संविधान कार्यान्वयनमा आफ्नो दलले सहयोग गर्ने बताउनुभएको छ ।

पालुङटारमा ओजराज–चेतकुमारी भट्टराई राष्ट्रिय प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा नेता गुरुङले सरकारको गुण वा दोषका आधारमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न एमाले तयार छ भन्नुभयो ।

“संविधान कार्यान्वयन गर्दै चुनाव नगरेमा वैदेशिक हस्तक्षेप बढ्छ । सरकारले संविधान कार्यान्वयन ग¥यो भने हामी सघाउँछौँ”, उहाँले भन्नुभयो, “एमाले सरकार ढालेको भए पनि संविधान कार्यान्वयनमा यो सरकार अघि बढ्छ भने हामी सहयोग गर्छौं ।” केपी शर्मा ओलीका पालामा युगान्तकारी बजेट आएको जिकिर गर्दै गुरुङले वृद्धभत्ता बढाउने जस्ता काम राम्रा काम त्यसबेलाको सरकारले गरेको बताउनुभयो ।

“केपी ओली नेतृत्वको सरकारले गरेको राम्रो कामको पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले कार्यान्वयन गर्छ भने हामी सहयोग गर्छौं”– उहाँले भन्नुभयो, “क्रान्ति विरोधी, परिवर्तन विरोधी, विदेशी हस्तक्षेपलाई प्रश्रय दिइयो भने संसद् र सडकबाट विरोध गर्छौं ।”

एमाले नेता ओजराज भट्टराईको वार्षिक पुण्यतिथिमा आयोजित कार्यक्रममा नेता गुरुङले भट्टराईको सालिकको शिलान्यास गर्नुभयो । करिब रु दुई लाख ५० हजारको लागतमा अर्धकदको सालिक निर्माण गर्न लागिएको प्रतिष्ठानका सचिव सुवास पण्डितले जानकारी दिनुभयो । कार्यक्रममा एमाले नेता खगराज अधिकारी, रामशरण बस्नेत लगायतले भट्टराईको योगदानबारे चर्चा गर्नुभयो ।

प्रतिष्ठानले ज्येष्ठ कम्युनिस्ट सदस्य यमुनाप्रसाद न्यौपाने, रामलाल श्रेष्ठ, जुद्धबहादुर पपने, वाचस्पति देवकोटा, सूर्यबहादुर मास्के र जगतबहादुर श्रेष्ठलाई सम्मान पनि ग¥यो ।