कोरियामा आत्माको बिहे — प्रदीप नेपाल

Pradip.
उत्तर र दक्षिणबीच अर्को समानता पनि देखेँ मैले । दुवै क्षेत्रका नागरिकले अथवा हुनसक्छ, सरकारले नै, कोरियाको विभाजनलाई स्वीकार गरेका छैनन् । दुवैतिर झुन्ड्याइएका नक्सामा सिंगो कोरिया छ ।

‘हामी कति किलोमिटर गुड्यौँ होला भाइ ?’
‘तीन हजारभन्दा बढी ।’
तपाईं कल्पना गर्न सक्नुहुन्छ रु नेपालबाट दक्षिण कोरिया घुम्न गएका हामी, तीन हजार किलोमिटरभन्दा बढी घुम्यौँ ।

तर, हामी गुड्यौँ त्यति । एउटा माइक्रोबसमा म, डोलिन्द्रप्रसाद शर्मा, लाला गुरुङ र बीके कलाकार नेपाली, नेपाली चेली कोरियाली बुहारी मन्जु गुरुङ र नेपाली ज्वाइँ कोरियाली छोरा किम चढेका छौँ । किम आफूलाई सगरमाथा गुरुङ भन्न रुचाउँछन् । गाडीको स्टेरिङ उनकै नियन्त्रणमा छ ।
भन्छन् पनि, ‘मलाई कोरियाभन्दा नेपाल बस्न मन पर्छ ।’

तर, उनले कोरियाको नागरिकता छाडेका छैनन् । छाड्नेवाला पनि छैनन् । उनले नेपालको नागरिकता लिएका छैनन् । त्यसैले उनी कोरियाली नै भइरहन्छन् । कोरियाली कवि हुनुमै गौरव छ
उनलाई । मन्जु बहिनी पनि कालान्तरमा कोरियाली नागरिक हुने सम्भावना बढी छ ।
जे होस्, हामीले यात्रा थाल्यौँ ३ वैशाखमा र फर्किने मिति थियो, १७ वैशाखमा ।

विदेश यात्रा अलि अप्ठ्यारो काम हो । आफ्नो यात्राको सम्पूर्ण जाँचबुझ आफैँले गर्नुपर्छ । यसपालिको यात्रा अलिक हतारपतारको भयो । मैले यात्रा विवरणतिर चासो राखिनँ । बेलैमा चासो राखेको भए बाटोको यात्रा सजिलो र छोटो हुने थियो । आफूले मतलब नराखेको हुनाले अनावश्यक कष्ट पनि उठाउनु पर्‍यो ।

थालनीमै ढुंगा लाग्यो । मैले सोचेको थिएँ, यात्रामार्ग काठमाडौँ विमानस्थलबाट जुरुक्क उठ्यो अनि इन्चोँग विमानस्थलमा थचक्क बस्यो । तर, टिकट व्यवस्थापन गर्नेले काठमाडाँै–कोरियाको सीधा टिकट पाइएन भनेर काठमाडाँै–बैंकक–इन्चोँग अनि फर्किंदा पनि उही बाटो पारेछ । विमानस्थलमा छिरेपछि मात्र यात्रामार्गको जानकारी पाइयो । त्यसभन्दा पनि आतंक मच्चाउने ट्रान्जिट थियो, फर्किंदा बैंकक विमानस्थलको । जम्मा २० घन्टा मात्र । थालनीमै तर्सिएँ म ।

जे नहुनु थियो, त्यो भइसकेको थियो । म एक्लै यात्रा रद्द गर्न सक्दिनथेँ ।
कोरिया छिरेपछि भने म रमाएँ । मलाई चासो थियो, ख्वाङ्जू विद्रोहको । बीसौँ शताब्दीको युगान्तकारी विद्रोह । जहाँ १० दिनमा ६४ हजार मानिस मारिएका थिए । रगतको आहाल बनेको थियो सडक । अमेरिकी सेनाको आडमा कोरियाली सेनाका ट्यांक र रोलरहरू चढेका थिए सामान्य नागरिकका छातीमाथि ।

‘हामी ख्वाङ्जू जान्छौँ नि १’ मैले किमलाई सोधेँ ।
‘तीन दिनपछि हामी ख्वाङ्जू पुग्छौँ । एक दिन एक रात हामी त्यहीँ बस्छौँ ।’
दङ्ग परेँ म । किनभने, मेरा लागि कोरिया भ्रमण ख्वाङ्जूमा अड्किएको थियो ।
र पनि यात्रामार्गमा जानेका केही कुरा यहाँ राखिहालौँ ।

दक्षिण कोरियामा पनि सन् १९६० मै सैनिकले सत्ता हत्याएछ नेपालमा जस्तै । नेपालमा महेन्द्रले साहित्य–संस्कृतिमार्फत नेपालको मौलिक परिचय दिने सोच बनाए । त्यसैले उनको आह् वान कला, साहित्य र संगीततिर लाग्यो । कोरियाका पार्क चुङहीले विकासको मोडेल बनाए कोरियाका लागि । विदेशमा भएका इन्जिनियरहरूलाई राष्ट्रनिर्माणको अभियानमा सहभागी हुन आह्वान गरे । उनले भनेछन्, ‘अहिले तिमी आफ्नो पसिना कोरियालाई देऊ, कोरियाले तिमीलाई समृद्धिको उपहार दिनेछ ।’
र, कोरियाले सबै नागरिकलाई समृद्धिको उपहार दिएछ । सहरका विशाल संरचनाको कुरै नगरौँ, त्यो धेरैतिर छ ।

तर, त्यसभन्दा गज्जबको बाटो छ कोरियाको । नाकअगाडिका सबै डाँडामा सुरुङ छ । न उकालो, न ओरालो, न त घुमाउरो ।

बाटोको मामिलामा हामीले आफ्नो चर्चा नगर्नु नै बेस । तर, उत्तर र दक्षिण दुवै कोरियामा बाटो एउटै तरिकाका रहेछन् । डाँडो देख्नै नहुने । प्वाल पारिहाल्ने । बाटो पनि उस्तै फराकिला ।
झगडा र आवतजावत बन्द भए पनि दुवैतिरका इन्जिनियरले राजमार्ग निर्माणको प्रविधिमा चाहिँ खुसुक्क सल्लाह गर्न भ्याएछन् जस्तो लाग्ने ।
०५२ सालमा म उत्तर कोरियाको भ्रमणमा गएको थिएँ ।

उत्तर र दक्षिणबीच अर्को समानता पनि देखेँ मैले । दुवै क्षेत्रका नागरिकले अथवा हुन सक्छ, सरकारले नै, कोरियाको विभाजनलाई स्वीकार गरेका छैनन् । दुवैतिर झुन्ड्याइएका नक्सामा सिंगो कोरिया छ । त्यहाँ कतै देख्न पाइँदैन, ३८औँ समानान्तर विभाजन रेखा । उत्तर कोरियाले त घोषित रूपमै कोरिया एक हो, साम्राज्यवादी अमेरिकाले हाम्रो परिवारलाई विभाजित गरेको हो भनेको छ । दक्षिण कोरियामा त्यो खुलासा त मैले कतै सुनिनँ । तर, कुनै दिन हाम्रो कृत्रिम विभाजन रेखा मेटिनेछ भन्नेचाहिँ मैले पाँच स्थानको भेटघाटमा सुनेँ ।

‘उत्तरले दक्षिणमाथि क्षेप्यास्त्र हान्दैन’ जब्बर विश्वास छ, दक्षिण कोरियाका नागरिकमा । यसको अर्थ मैले ‘हामी कोरियालीहरू एक छौँ’ भन्ने लगाएँ ।
‘होम स्टे’जस्तो थियो हाम्रो यात्रा । कहिले मोटेलमा । कहिले घरमा । यो ‘होम स्टे’ यात्रामा हामी उत्तरको सोलदेखि दक्षिणको समुद्रसम्म पुग्यौँ ।
ख्वाङ्जू सोल र समुद्रको बीचमा पर्दो रहेछ ।
तोकिएकै समयमा म ख्वाङ्जू पुगेँ, साँझ ७ बजे । त्यस क्षेत्रका अति सम्मानित कवि, विश्वविद्यालयका प्राध्यापक, ख्वाङ्जू मेमोरियल फाउन्डेसनका संस्थापक अध्यक्ष किम जुनफेसँग सन्ध्या–भोजन गरियो ।

‘त्यो प्रजातान्त्रिक आन्दोलनको उत्कर्ष थियो । दमन पनि राक्षसी थियो । सडकमा मान्छे देख्नै नहुने । को आन्दोलनकारी, को पसले, को कर्मचारी, छ् यानब्यान नगरी सोत्तर पारिए हाम्रा कोरियाली नागरिकहरू । १० दिनमा ट्यांक र रोलरहरूले पेलेर यो सहरलाई चिनिन नसक्ने बनाएको थियो । रगत र मासुका चोक्टाबाहेक अरू केही देखिँदैनथ्यो सडकमा । दमनमा देखिएका कोरियाली सैनिक थिए । तर, ट्यांक र रोलरहरूको सञ्चालन अमेरिकी सेनाले गरेका थिए । निर्मममतापूर्वक दबाइएको थियो, त्यो विद्रोह । तर, त्यसको ज्वाला अहिले पनि बलिरहेको छ प्रजातन्त्रप्रेमी कोरियाली जनताको मनमा । र, यो ज्वाला निरन्तर बलिरहनेछ । यो ज्वालालाई निभ्न नदिन हामीले विशाल समाधिस्थल र ख्वाङ्जू मेमोरियल फाउन्डेसनको स्थापना गरेका हौँ । १० दिनको त्यो दमनचक्रमा ६४ हजार कोरियाली नागरिकले जीवनको आहुति दिएका छन् ।’

७० नाघेका ती कविको आवाजमा उत्तेजना र उत्साह समाहित भएको थियो । मानौँ, उनी पिट सिगरको गीत गाइरहेका थिए स् वी स्याल ओभरकम सम डे ।

‘तपाईंहरूको भोलि त्यहीँ बित्छ । डेमोक्र्याटिक पार्टीले चुनाव जितेपछि हामीले धेरै राम्रा काम आरम्भ गर्‍यौँ । उत्तरसँगको सम्बन्ध सुधारियो, तानाशाहहरूलाई सजाय दिइयो । यहाँ हामीले ख्वाङ्जू मेमोरियल फाउन्डेसनको काम थाल्यौँ । भोलि तपाईंहरूले सबै देख्न पाउनुहुनेछ ।

बिहानै यात्रा आरम्भ भयो । एउटा पुरानो समाधिस्थल रहेछ । ख्वाङ्जू संघर्षमा मारिएका केही आफन्तहरूले एउटा सानो डाँडालाई समाधिस्थल बनाएका रहेछन् । कतिपय परिवारले आ–आफ्नो पारिवारिक समाधिस्थलमा पनि लगेर चिनारी गराएका रहेछन् । पछि डेमोक्र्याटिक पार्टीले चुनाव जितेर ख्वाङ्जू विद्रोहलाई सम्मान दिएपछि ठूलो भूभाग ओगटेर ख्वाङ्जू विद्रोहका सम्पूर्ण सहिदहरूलाई एकै ठाउँमा समाधिस्थ गर्ने निर्णय गरेको रहेछ । तर, त्यो कुनै करकापको विषय रहेनछ । परिवारसँगै सुतून् परिवारका सदस्यहरू भन्नेहरूका सन्तानलाई स्वतन्त्र छोडिएको रहेछ । तर, राष्ट्रिय सम्मान सुरक्षित हुने हुनाले अधिकांशले नयाँ समाधिस्थलमा चिहान–चौतारी बनाएर अस्थि विसर्जन गरेका रहेछन् ।

समाधिस्थलको मूलढोका कटेर भित्र पस्नेबित्तिकै एउटा नमीठो सन्नाटामा हराएँ म । सुस्तरी पाइला चालेँ । परिचयात्मक पाटी राखिएका समाधिस्थलहरूमा त्यसै स्वर मसिनो हुँदो रहेछ । आँखाले देखेसम्मको भूमिमा प्रतीकचिह्नसहितका समाधि छन् । अधिक विद्यार्थी छन् त्यहाँको सन्नाटामा सुतेका π कर्मचारी र व्यवसायीहरू पनि छन् पीडादायी हत्यापश्चात् त्यहाँको एकान्तमा शान्तिपूर्वक निदाएका ।

एउटा अनौठो चलन थाहा पाएँ, कोरियाको त्यही समाधिस्थलमा, आत्माको बिहे । अविवाहितहरू अकालमा मरे भने, हत्या गरिए भने, आवश्यकता अनुसार मृतक महिला पुरुषको जोडी बाँधिदिने चलन रहेछ कोरियामा । त्यहाँ पनि एक युवक र युवतीको मृत्युपश्चात् बिहे गरिएको रहेछ । युवक आन्दोलनका नेता रहेछन् । युवती अन्यायपूर्वक मारिएकी सामान्य महिला ।

संस्कार पनि अनौठा अनौठा हुँदा रहेछन् । हाम्रातिर कल्पना पनि नगरिने संस्कार कोरियामा रहेछ । हाम्रो मृत्युसंस्कार पनि कोरियालीहरूलाई अनौठो लाग्दो हो ।

सेतो धोतीजस्तो, लामो कपडा समातेर मानिसहरू समाधिस्थलतिर छिरे । समाधिस्थलबारे जानकारी दिइरहेका साथीले हामीलाई एकातिर उभिन लगाए ।

‘यहाँ समाधिस्थ गरिएको कसैको जोडीको मृत्यु भएछ,’ सानो स्वरमा उनले भने, ‘हामी एकातिर उभिऔँ । उहाँहरूले साथमा ल्याउनुभएको अस्थि विसर्जन गर्नुहुन्छ ।’

मौन थियो, परिवेश । मौन थिए मलामीहरू । एकछिनअघिसम्म कुराकानी गरिरहेका हामी पनि मौन भयौँ, मानौँ हामी प्रजातन्त्र प्राप्तिको लडाइँमा शहादत प्राप्त गरेको योद्धालाई श्रद्धाञ्जली दिइरहेका छौँ ।
मलामी नजिकै आए । सबैभन्दा पहिले हिँडेको आफन्तले एउटी महिलाको फोटो बोकेका थिए । कसैलाई सोधिरहनु पर्दैनथ्यो हामीले । ती महिला कुनै विद्यार्थी सहिदकी पत्नी हुन् भनेर सहज अनुमान लगाउन सकिन्थ्यो । समय पनि त धेरै बितेको थियो, ३६ वर्ष । उतिबेलाका ३० वर्षे जोडी अहिले झन्डै ७० को टेकोमा उभिन पुगेका थिए ।

अलिक माथि रहेछ ती विद्यार्थीको समाधिस्थल । थोरै संख्याको त्यो मलामी एउटा प्रतीकचिह्न राखिएको ठाउँमा पुग्यो । पहिले नै सानो खाल्डो खनेर राखिएको रहेछ । परिवारका सदस्यले अस्थि समाधिस्थ गरेको प्रक्रिया हामीले परैबाट हेरिरह्यौँ ।

सन्नाटामा अरू चिसोपन थपियो । हामी देखिरहेका थियौँ, मानौँ हाम्रैअगाडि अर्को आत्माको बिहे भइरहेछ ।