पूर्व राष्ट्रपति यादवलाई क्यान्सर, उपचारका लागि अमेरिका जानुहुने

ramabar yadhav

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई क्यान्सर भएको छ। भारतमा स्वास्थ्य परीक्षणक्रममा पूर्वराष्ट्रपति यादवलाई प्रोस्टेट क्यान्सर देखिएको हो। प्रोस्टेट पुरुषको पिसाब थैली र पिसाब नली सुरु हुने स्थानमा रहने एक ग्रन्थी हो।

प्रोस्टेट क्यान्सर देखिएपछि यादव शल्यक्रियाका लागि अमेरिका जाने भएका छन्। भारतको चन्डिगढस्थित नेहरू चिकित्सालय पोस्ट ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिर्सच सेन्टरमा गरिएको परीक्षणमा ुएडिनोकार्सिनोमा अफ प्रोस्टेटु प्रोस्टेटको क्यान्सर देखिएपछि अस्पतालले नै उच्च चिकित्सा प्रविधि प्रयोग गरी तत्कालै शल्यक्रिया गर्न सुझाएको थियो।

अस्पतालले क्यान्सर उपचारका लागि केही साताभित्रै ुमिनिमल इनभेजिभ रेडिकल प्रोस्टाटेक्टोमीु सानो प्वाल पारेर शल्यक्रिया गर्ने आधुनिक प्रविधि गर्न सल्लाह दिएपछि पूर्व राष्ट्रपति यादव अमेरिका जान लाग्नुभएको हो ।

नेपालमा उपचारका लागि उक्त प्रविधि नभएपछि मेडिकल बोर्डले नै यादवलाई अमेरिका जान सिफारिस गरेको हो। बोर्डले भदौ ५ गते यादवलाई उपचारका लागि नेपालबाहिर जान सिफारिस गरेको थियो। भारतका केही अस्पतालमा उक्त सेवा उपलब्ध रहे पनि चन्डिगढको उक्त अस्पतालले समेत सकेसम्म उच्च प्रविधि भएको ठाउँमै जान सुझाएपछि यादव अमेरिका जान लाग्नुभएको हो ।

नेहरू अस्पतालले पूर्व राष्ट्रपतिको उपचारक्रममा लागेको सम्पूर्ण खर्च निःशुल्क गरिदिएको छ। नेपालका पूर्वराष्ट्रपतिको सम्मानमा भन्दै अस्पतालले उपचारक्रममा लागेको खर्च शुल्क नलिएको हो। यादवले उक्त अस्पतालको शिक्षण अस्पतालमा अध्ययन गर्नुभएको थियो ।
शल्यक्रियाका लागि पूर्व राष्ट्रपति यादवले अमेरिकाको हेनरी फोर्ड अस्पतालमा प्रारम्भिक मितिसमेत लिइसक्नुभएको छ । उहाँ आगामी असोज १० गते सेप्टेम्बर २६ शल्यक्रिया गर्ने मिति लिइएको छ। पारिवारिक स्रोतले दिएको जानकारीअनुसार उहाँ शल्यक्रियाका लागि भदौ ३० गते सेप्टेम्बर १५ अमेरिका उड्ने कार्यक्रम तय भएको छ ।