हास्यकलाकार पन्तलाई वासुदेव लुइँटेल पुरस्कार

ललितपुर । हास्यकलाकार सन्तोष पन्त २०७२ सालको ‘वासुदेव लुइँटेल पुरस्कार–२०७२’ बाट सम्मानित हुनुभएको छ । वासुदेव–विद्यादेव लुइँटेल गुठीले दिएको सो पुरस्कारका साथमा रु एक लाख ११ हजार १११ र कदरपत्र छ । गुठीद्वारा आयोजित कार्यक्रममा पुरस्कार प्रदान गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाज विकास र परिवर्तनमा हास्यव्यङ्ग्य क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । पूर्वप्रधानमन्त्री ओलीले समृद्ध, सुखी र सम्पन्न देश बनाउन सबै क्षेत्रमा क्रियाशील व्यक्तित्वको सहभागिता हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा साहित्यकार मोदनाथ प्रश्रितले हास्यव्यङ्ग्य स्रष्टाले नेपाली समाजको तीतो यथार्थलाई जनतासामु पस्कने काम गरेको छ भन्नुभयो । गुठीका अध्यक्ष तथा वासुदेव लुइँटेलीकी सुपुत्री प्रा डा सुषमा आचार्यले कला, अभिनय, साहित्य र हास्यक्षेत्रमा क्रियाशील व्यक्तित्वमध्येबाट प्रत्येक दुई÷दुई वर्षमा सो पुरस्कार प्रदान गरिने जानकारी दिनुभयो । सम्मानित कलाकार पन्तले आफूले पाएको पुरस्कार यस क्षेत्रमा थप खुड्किला चढ्न प्रेरणादायी भएको बताउनुभयो । सो अवसरमा गुठीद्वारा प्रकाशित ‘हास्यव्यङ्ग्यका सारथी’ नामक पुस्तक विमोचन गरिएको थियो ।
भदौ २४ गते