म्यादी प्रधानमन्त्री प्रचण्डले भारतसँग दीर्घकालीन सन्धि सम्झौता गर्न मिल्दैन—
हिरण्यलाल श्रेष्ठ,कूटनीतिज्ञ

maitrinews

hiranya-lal-shrestha-1

कूटनीतिको क्षेत्रमा निकै लामो अनुभव सम्हाल्नु भएको हिरण्यलाल श्रेष्ठ वर्तमान प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा कुनै पनि महत्वपूर्ण सन्धि–सम्झौता गर्नुहुँदैन भन्ने पक्षमा हुनुहुन्छ । उहाँ म्यादी प्रधानमन्त्री भएको भन्दै श्रेष्ठले प्रचण्डलाई त्यस्ता सन्धी–सम्झौता गर्ने अधिकार नभएको दाबी गर्नुभयो । त्यति मात्र होइन चीनका राष्ट्रपति सी जिन पीङको नेपाल भ्रमणबारे उठेका विभिन्न चर्चाले पनि प्रचण्ड नेतृत्वको सरकार कुटनीतिक रुपमा सफल हुन नसकेको दाबी गर्नुभयो । उहाँसँग मैत्रीन्युज डटकमले गरेको कुराकानी :
 

मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई तपाईँले कुटनीतिक आँखाबाट कसरी हेर्नुभएको छ ?

वर्तमान राजनीतिक अवस्थालाई हेर्दा निकै विचित्रको देखिएको पहिलो ठूलो दल नेपाली कांग्रेस तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रको नेतृत्वको सरकारमा छ । अर्थात पहिलो ठूलो दलले तेस्रो ठूलो दललाई सत्ताको नेतृत्वमा समर्थनसहित पु¥याएको छ । अनि दोस्रो ठूलो दल नेकपा एमाले चाहीँ प्रतिपक्षमा छ ।
त्यति मात्र होइन निकै लामो समयदेखि आन्दोलन जारी राखेका मधेसवादी दलको समेत नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समर्थन रहेको छ । प्रचण्डजी अहिले प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमणमा जाने तयारीमा हुनुहुन्छ । उहाँ भारत भ्रमणमा जाँदा धेरै कुराको ख्याल गर्नुपर्ने जरुरी छ ।

तर, मधेसवादी केही दल त अहिले फेरि प्रचण्ड नेतृत्वको सरकारकाले आफ्ना माग पूरा गरेन भनेर सडक आन्दोलनमा जाने तयारीमा छन् नि ?

सबै भन्दा विचित्रको कुरा यहाँ छ । उहाँहरुले पहिला पनि आन्दोलनमा हुनुहुन्थ्यो । फेरि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि उहाँहरु प्रचण्डजीलाई प्रधानमन्त्री बनाउन सदमा आउनु भो, सहभागी हुनुभयो र उहाँलाई प्रधानममन्त्री पनि बनाउनुभयो । अहिले उहाँहरु सत्तापक्ष हो । तर, विचित्र के छ भने अहिले सत्तापक्ष नै आन्दोलनको तयारीमा जुटेको छ । यहाँ भन्दा विचित्र के हुन्छ ? उहाँहरुले त ल संविधान नै संशोधन गर्ने हो भने पनि प्रमुख प्रतिपक्ष र सरकारमा सहभागी नभएका दलहरुसँग पनि सल्लाह गर्नुपर्ने हो । छलफल गर्नुपर्ने हो । कसो गरौँ भन्नु पर्ने हो । खै त्यो त देखिदैन नि ? उहाँह संविधानलाई टेवुल गर्नुको सट्टा आन्दोलन गर्ने भनेर लाग्नुभएको छ ।

अहिले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई चाहीँ कसरी लिनुभएको छ ?

प्रधानमन्त्री भएपछि पहिला भारत भ्रमण गर्नै पर्ने बाध्यता जस्तो उहाँ प्रधानमन्त्री भएपछि औपचारिक भारत भ्रमणमा जान लाग्नुभएको छ । मलाई गजब लागेको छ । उहाँले परम्परा धान्ने काम गर्नुभएको छ । म भारत वा चीनमा नेपालको प्रधानमन्त्रीले जानु हुँदैन भन्नेमा छैन । छिमेकसँगको सम्वन्धलाई बलियो बनाउनु हुँदैन भन्नेमा पनि छैन । तर, जुन ढंगले प्रधानमन्त्रीले भारत भ्रमणको तयारी गर्नुभएको छ । त्यो त्यति उपयुक्त छ जस्तो मलाई लाग्दैन ।
प्रधानमन्त्री प्रचण्ड जुन परिवेशमा प्रधानमन्त्री बन्नुभयो । यही अवस्थामा उहाँको पहिलो

औपचारिक विदेश भ्रमण नै भारत हुनुलाई चाहिँ कसरी लिनुभएको छ ?

मैले अघि पनि भने । परिस्थिति अनुसार जहिले र जहाँ पनि जानुपर्छ । के सम्झौता गर्नुपर्ने हो । किन औपचारिक भ्रमण गर्नुपर्ने हो । त्यो सबै कुरालाई ख्याल गरेर कहिले छिमेक वा छिमेक भन्दा पनि बाहिर पनि भ्रमण पर्न सक्छ । त्यसैले पहिला छिमेकै जानुपर्छ भन्ने केही छैन । उही परम्परा बसाल्न जाने हो भने बेग्दै कुरा । राष्ट्रलाई हित हुने एजेण्डा कोसँग छ त्यहाँ सम्झौता गर्न भ्रमण गर्ने हो । अहिले जुन ढंगले ढोगभेट गर्न जाने परम्परा बनेको छ । त्यो गलत छ । ठीक छैन ।
व्यवस्थापिका–संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सामान्य छलफल समेत नगरी

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको तयारी गरेका छन् । यसलाई चाहिँ कसरी लिनुभएको छ ?

अहिले नेपाली जनताले राष्ट्रिय नीति चाहेका छन् । पार्टी नीति होइन । प्रचण्डजीले भारत भ्रमण गर्नु अघि सबै दलसँग छलफल गरेर राष्ट्रहितमा हुने कुरा के–के हुन् भनी सल्लाह गर्नुपर्ने हो । तर, त्यो पटक्कै देखिएन । एमाले स्वयम्ले पनि प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र नै बुझाएको छ । यसले पनि प्रचण्डजीले छलफल नगरेको पुष्टी हुन्छ । यस्तो भ्रमणमा सबैसँग छलफल गर्नु अपरिहार्य हुन्छ । त्यो उहाँमा देखिएन ।

प्रयाप्त छलफल नै नगरी प्रचण्डलाई भारतले प्रधानमन्त्री बनायो भन्ने चर्चा छ । यस्तो चर्चा चलिरहेका बेला प्रमुख प्रतिपक्षी दलसँग समेत छलफल नै नगरी त्यो पनि भारत नै हानिनुले त केही संकेत गर्ला नि ?

हेर्नुहोस, दुईतिहाई नभई संविधान संशोधन हुँदैन । संविधान संशोधन नभई मधेसको समस्या समाधान हुँदैन । यस्तो बेला भारतलाई होइन प्रचण्डजी र मधेसवादी दलले पनि प्रमुख प्रतिपक्षीलाई खुशी बनाउनुपर्ने हुन्छ । यता विपक्षीहरुलाई खुशी नवनाई विदेश चाहार्नु त्यति उपयुक्त हुँदैन ।
प्रचण्ड नेतृत्वको सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भारत वा चीनसँग गरेका सन्धीसम्झौतालाई अघि बढाउने संभावना कत्तिको देख्नुभएको छ ?
केपी ओली नेतृत्वको सरकारले चीन र भारतसँग गरेका सम्झौताहरु पार्टी नीति होइन राष्ट्रहितमा भएकाले त्यसलाई कार्यान्वयन गर्नुको अर्को विकल्प नै छैन । प्रचण्डको भारत भ्रमणको पूर्वसन्ध्यामा विपक्षी दल र नागरिक समाजले पनि राष्ट्रहित विपरित सम्झौता नगर्न प्रचण्डलाई दबाब दिइरहेको छ । यो म्यादी सरकार भएका कारणले पनि महत्वपूर्ण सन्धी–सम्झौता गर्ने अधिकार यो सरकारलाई छैन । सबैले त्यही भन्दै आएका छन् । दूरगामी असर पर्ने कुरा नगर्न भन्दै आएकै छन् ।

कुटनीतिक आँखाबाट पनि त्यही हो ?

हो, यो संक्रमण कालको अन्तअन्त हुन लागेको सरकार हो । यो सरकार को सात महिना मात्र हो । त्यसैले यो म्यादी सरकारले केही पनि गर्न मिल्दैन ।

पछिल्लो समय चीनका राष्ट्रपति सी नेपाल आउने–नआउने चर्चाले अहिले राम्रो बजार लिएको छ । केपी ओली नेतृत्वको सरकार रहेका बेला सी आउने कुरा थियो । अहिले प्रचण्ड नेतृत्वको सरकार बनेपछि फेरि आउने–नआउने भन्ने विषयमा चीनले अन्तिम निर्णय नगरेको भन्दै चीनको विदेश मन्त्रालयले नै जानकारी दिएको छ । यसलाई कसरी लिनुभएको छ ?

चीनको राष्ट्रपति नेपाल आउन चाहन्छन् । चीनले एउटा ‘थीङ ट्क्याङक’ नै नेपाल पठाएर तयारीको बुझ–बुझारथ गरेको छ । उनीहरुले हामी आउन चाहन्छौँ तयारी गर् । अनुकुल वातावरण बनाउँ भनेका छन् । त्यति मात्र होइन, उनीहरुले ओली नेतृत्वको सरकारले गरेका सम्झौता कार्यान्वयन हुन्छन् कि हुँदैनन् । त्यो पनि भनेका छन् । ओली सरकारसँग सम्झौता व्यक्तिका बीचमा भएको होइन, राज्यसँग भएको हो । अरु चीन जाँदा पनि उनीहरुले त्यही भनेका छन् । त्यसैले वर्तमान सरकारले यी सबै कुराको ग्यारेण्टी गरेर, नेपालमा सुरक्षाको प्रवन्ध पनि मिलाउने भनेपछि सी नेपाल आउने संभावना बलियो हुन्छ । नत्र भन्न सकिन्न । अहिले चीनले नेपाल हाम्रो छिमेकी मुलुक हो । हामी उहाँहरुसँग राम्रो सम्बन्ध राख्न चाहन्छौँ भनेको छ । उसले अहिले पनि नेपाल आउने–नआउने बारेमा केही पनि भनेको छैन । त्यसैले सीको भ्रमण अनिश्चित नै देखिन्तछ ।
सीको नेपाल भ्रमण स्थगन भयो भने प्रचण्ड नेतृत्वको सरकारलाई पनि गम्भीर असर पर्ला नि ?
चीनले त वाममोर्चा नेतृत्वको सरकार र गठबन्धन नटुटोस् नै भन्ने चाहेको थियो । केही दिन अघि यो सरकार चीनका राष्ट्रपतिलाई नेपाल भ्रमणमा आउन नदिन बनेको हो भनेर नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले नै भनेकी थिइन् । त्यसले पनि धेरै कुराको प्रमाणित हुन्छ । यदि सी नेपाल भ्रमणमा तोकिएको समयमा आउने वातावरण बनेन भने कुटनीतिक रुपमा पनि वर्तमान सरकारलाई गम्भीर असर गर्ने निश्चित छ ।