खोटाङमा ठेकेदारको लापरबाहीले करोडौँका दुई सडक कालोपत्र योजना अलपत्र
खोटाङ, २९ असार । निर्माण व्यवसायीको चरम ढिलासुस्ती र कार्यक्षमताको अभावका कारण खोटाङका दुई महत्वपूर्ण ग्रामीण सडक कालोपत्र गर्ने आयोजना अन्तिम चरणमा पुगेर अलपत्र परेका छन्। कोशी प्रदेश सरकारको लगानीमा ‘अस्फाल्ट’ प्रविधिबाट कालोपत्र सुरु गरिएका दिक्तेल–हलेसी खण्डका दुई रणनीतिक सडकहरूको निर्माण कार्य म्याद गुज्रिएसँगै अधुरो रहने निश्चित भएको हो।
भौतिक पूर्वाधार विकास कार्यालय खोटाङका अनुसार कालोपत्रका लागि छनौट भएका दुई योजनाको भौतिक प्रगति अत्यन्तै न्यून देखिएको छ । नुनथला–ऐसेलुखर्क खण्ड: २ हजार २०० मिटर कालोपत्र गर्ने लक्ष्यसहित रु २ करोड ३८ लाख ३८ हजारमा ठेक्का लागेको यस सडकको भौतिक प्रगति हालसम्म मात्र १८ प्रतिशत छ। त्यस्तै हुर्लुङ–बाक्सिला खण्ड: २ हजार ५०० मिटर कालोपत्रका लागि रु २ करोड ५३ लाख ५४ हजारमा सम्झौता भएको यस सडकको प्रगति झन् कमजोर अर्थात् १३ प्रतिशत मात्रै सीमित छ।
यी दुवै सडकको कालोपत्र गर्ने जिम्मेवारी पाएको निर्माण कम्पनी बिसी–पिसी–पीकेबी जेभी ले यही असार १५ गतेभित्र काम सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो।
सडकको ड्रेन, रिटेनिङ वाल र सवबेस जस्ता प्रारम्भिक कामहरू सम्पन्न भई ‘बेस’ राखेर कालोपत्र गर्ने मुख्य चरणमा पुगेपछि काम रोकिएको छ। कार्यालयका प्रमुख इन्जिनियर विनम दाहालका अनुसार निर्माण व्यवसायीले समयमै आवश्यक ‘बिटुमिन’ खरिद गर्न नसक्नु र अन्तिम समयमा आएर मनसुनी वर्षा सुरु हुनुले काम प्रभावित भएको हो। “कालोपत्रका लागि करिब एक महिनाको अनुकूल समय आवश्यक थियो, तर ठेकेदारले वैशाखमा सम्झौता गरेर पनि लामो समय काम नगरी बिताए,” इन्जिनियर दाहालले भन्नुभयो।
सडक कालोपत्र गर्ने अन्तिम तयारीमा पुगेर काम छाडिँदा राज्यको करोडौँ लगानी बालुवामा पानी हाले सरह हुने जोखिम बढेको छ। हुर्लुङका स्थानीयवासी महन गुरुङले भन्नुभयो, “कालोपत्र गर्ने बेलामा ठेकेदार हिँडेपछि अब बर्खाको पानीले सडकको सवबेस सबै बगाउँछ, यो सरासर राज्यकोषको दुरुपयोग र जनतामाथिको खेलबाड हो।” यस्तै, निर्माणस्थलमा अलपत्र छोडिएका निर्माण सामग्रीका कारण वर्षायाममा यातायात सञ्चालनमा समेत अवरोध पुगेको यातायात व्यवसायीहरूको गुनासो छ।