नेपाल महिला संघमा नेतृत्वका लागि उमा र मीनाबीच मुख्य प्रतिस्पर्धा हुने

काठमाडौँ । नेपाली काँग्रेसको भगिनी सङ्गठन नेपाल महिला सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु भएको छ । भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा उद्घाटन गरिएको महाधिवेशनमा भाग लिन देशभरबाट करिब दुई हजार दुई सय महिला प्रतिनिधि काठमाडौँ आएका छन् । भोलि सोही स्थानमा बन्द सत्र गरेर सङ्घको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । ३१ गते निर्वाचन कार्यक्रम राखिएको छ । महिला सङ्घको निवार्चनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने तयारी भएको छ । निर्वाचनले ६५ जनाको कार्यसमिति चयन गर्नेछ ।
सङ्घको नेतृत्वका लागि हालसम्म तीनजना आकाङ्क्षी देखिएका छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट उमा रेग्मी, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट मीना पाण्डे र अर्का नेता कृष्ण सिटौला पक्षले धना खतिवडालाई अघि सारेको छ । मुख्य प्रतिस्पर्धा भने उमा र मीनाबीच हुने देखिएको छ ।