रुसमाथि थप दबाब बढाउने रणनीति : युक्रेनी राष्ट्रपति जेलेन्स्की पेरिसमा, म्याक्रोंसँग वार्ता हुँदै
एजेन्सी, २९ फागुन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की फ्रान्सेली समकक्षी इम्यानुएल म्याक्रोंसँग भेटवार्ता गर्न आज पेरिस पुगेका छन्। रुसमाथि थप दबाब बढाउने रणनीतिका विषयमा दुई नेताबीच गम्भीर विचारविमर्श हुने बताइएको छ।
अमेरिकाको मध्यस्थतामा किभ र मस्कोबीच चार वर्षदेखि जारी युद्ध अन्त्यका लागि सुरु भएको शान्ति वार्ता भर्खरै मात्र विफल भएको थियो। अमेरिका, इजरायल र इरानबीचको पछिल्लो द्वन्द्वका कारण युक्रेन–रुस वार्ता निष्कर्षविहीन बनेकै बेला जेलेन्स्कीको यो फ्रान्स भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
युक्रेनी राष्ट्रपतिका प्रवक्ता सेर्गी न्यकीफोरोभका अनुसार, दुई नेताबीच आज दिउँसो भेटवार्ता हुने र त्यसलगत्तै संयुक्त पत्रकार सम्मेलन आयोजना गरिनेछ।
यस उच्चस्तरीय वार्तामा रुसमाथिको आर्थिक तथा कूटनीतिक प्रतिबन्धलाई अझ कडा बनाउने विषयले प्राथमिकता पाउनेछ। विशेषगरी प्रतिबन्ध छलेर रुसी तेल ओसारपसारमा प्रयोग भइरहेका ‘स्याडो फ्लीट’ (छाया ट्याङ्कर) हरूलाई लक्षित गरी नयाँ कदम चालिने अपेक्षा गरिएको छ।
पेरिस पुग्नुअघि जेलेन्स्कीले रोमानियाको भ्रमण गरेका थिए। त्यहाँ उनले रोमानियासँगको सुरक्षा सम्बन्धलाई थप सुदृढ गर्दै बुखारेस्टसँग संयुक्त रूपमा सैन्य ड्रोन उत्पादन गर्ने सम्झौता गरेका थिए।
सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेयता युरोपमा दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो रक्तपात र विस्थापनको सङ्कट निम्तिएको छ।