इरानमाथि आक्रमण गर्न अमेरिकालाई आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने यूएईको घोषणा

एजेन्सी, २९ फागुन । संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्न अमेरिकालाई आफ्नो हवाई क्षेत्र र भूमि प्रयोग गर्न नदिने स्पष्ट पारेको छ।

यूएईकी राज्यमन्त्री लाना नुसैबेहले इरानविरुद्धको सम्भावित अमेरिकी आक्रमणका लागि आफ्नो देशको भूमि वा आकाश प्रयोगको अनुमति नदिइने बताएकी हुन्।

खाडी मुलुकहरूमा इरानले गरिरहेको आक्रमणको कडा निन्दा गर्दै राज्यमन्त्री नुसैबेहले ती आक्रमणहरू अत्यन्तै गम्भीर, गैरकानूनी र बिना कुनै उक्साहट गरिएको बताइन्।

इरानविरुद्ध यूएईले सैन्य वा जवाफी कारबाही गर्छ कि गर्दैन भन्ने प्रश्नको सोझो जवाफ नदिए पनि उनले यूएईसँग आत्मरक्षाको पूर्ण अधिकार रहेको चेतावनी दिइन्। बीबीसीका अनुसार, सम्भावित द्वन्द्वको सन्दर्भमा बोल्दै उनले समस्या समाधानका लागि अगाडि बढ्ने मुख्य बाटो कूटनीति नै हुनुपर्नेमा जोड दिएकी छन्।

यसैगरी, इरानी आक्रमणबाट परेको प्रभावबारे बोल्दै उनले यूएईको अर्थतन्त्र मजबुत रहेको दाबी गरिन्। दुबई अन्तर्राष्ट्रिय विमानस्थल, केही होटल, तेलका पूर्वाधार (आयल इन्फ्रास्ट्रक्चर) र पर्यटन उद्योगमाथि भएका आक्रमणको झड्का झेल्न आफ्नो देश पूर्ण रूपमा सक्षम रहेको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *