वायु प्रदूषणको कहालीलाग्दो असर : नेपालमा बर्सेनि ४२ हजारको मृत्यु, २१ प्रतिशत बालबालिका
काठमाडौं, २९ फागुन । वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसले अकालमा ज्यान गुमाउने गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदूषणका कारण मृत्यु हुने कुल संख्यामध्ये २१ प्रतिशत त पाँच वर्षमुनिका बालबालिका मात्रै रहेका छन्।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर र दीर्घकालीन असर पुर्याइरहेको बताए। उनका अनुसार प्रदूषणकै कारण मानिसहरूमा दम (श्वासप्रश्वास), मुटुरोग, हृदयघात, मस्तिष्कघात, उच्च रक्तचाप, मधुमेह, क्यान्सर र स्मरणशक्ति कमजोर हुने जस्ता प्राणघातक समस्याहरू बढ्दै गएका छन्।
विज्ञहरूका अनुसार वायु प्रदूषणको सबैभन्दा ठूलो मार बालबालिका र गर्भवती महिलामा परिरहेको छ। प्रदूषणले बालबालिकामा श्वासप्रश्वास र मुटुको समस्या बढाउनुका साथै बाल्यकालमै क्यान्सर हुने जोखिम निम्त्याएको छ। यसका अतिरिक्त शिशुहरूमा कुपोषण, मस्तिष्क विकासमा ढिलाइ र असामान्य व्यवहार देखिने गरेको छ।
त्यसैगरी, गर्भवती महिला र प्रजनन् स्वास्थ्यमा पनि यसको गम्भीर असर छ। प्रदूषणका कारण कम तौलको बच्चा जन्मिने, रक्तअल्पता (एनिमिया), बाँझोपन, गर्भकालीन मधुमेह र मानसिक स्वास्थ्य समस्याहरू बढ्दै गएको मन्त्रालयले जनाएको छ।
नेपालको वायु प्रदूषण विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तोकेको सुरक्षित मापदण्डभन्दा आठ गुणा बढी रहेको प्रवक्ता डा. बुढाथोकीले जानकारी दिए। डब्लूएचओका अनुसार हावामा तैरिएर श्वासप्रश्वासमार्फत सीधै फोक्सोसम्म पुग्ने अति सूक्ष्म कण (पीएम २.५) को वार्षिक औसत मात्रा ५ माइक्रोग्राम प्रतिघनमिटरभन्दा बढी हुनुहुँदैन। तर, नेपालमा यो मात्रा निकै उच्च छ। बिहीबार मात्रै नेपालको वायु गुणस्तर सूचकांक (एक्यूआई) १८५ सम्म पुगेको थियो।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार एक्यूआई ० देखि ५० सम्मलाई ‘स्वस्थ’ र ५१ देखि १०० सम्मलाई ‘सचेत रहनुपर्ने’ अवस्था मानिन्छ। १०१ देखि १५० सम्मको सूचकांकले बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीलाई गम्भीर असर गर्छ भने १५१ भन्दा माथिको अवस्थालाई ‘पूर्ण रूपमा अस्वस्थ’ मानिन्छ।
मन्त्रालयका अनुसार यदि नेपालले वायु प्रदूषणलाई डब्लूएचओको मापदण्डभित्र झार्न सके हरेक नेपालीको औसत आयु ३.३ वर्षले बढ्ने अनुमान छ। विश्वभर वायु प्रदूषणका कारण वार्षिक ७९ लाख मानिसको मृत्यु हुने गरेको छ, जसमध्ये ९० प्रतिशत मृत्यु नेपालजस्ता कम र मध्यम आय भएका मुलुकमा हुने गरेको तथ्यांक छ।
सवारीसाधन र उद्योगबाट निस्कने धुवाँ, खुला रूपमा फोहोर तथा प्लास्टिक जलाउने प्रवृत्ति, सडक र निर्माण कार्यबाट उड्ने धुलो, वन डढेलो र कृषिमा विषादीको प्रयोग नै नेपालमा वायु प्रदूषणका मुख्य कारण हुन्।