सहायतका लागि गएका गाडीको लस्करमाथि हवाई आक्रमण हुँदा सहायताकर्मी र चालक मारिए

सिरिया । सिरियाको अलेप्पो सहर नजिकैको विद्रोही नियन्त्रित क्षेत्रमा सहायताका लागि गएको गाडीको लस्करमाथि हवाई हमला भएको छ।
यो हमला सिरियाको सेनाले एकसाता लामो युद्धविराम अन्त्यको घोषणा गरेको केही घण्टामा नै भएको हो। उर्म अल कुब्र नगर नजिकै भएको हमलामा १२ जनाको ज्यान गएको छ।
संयुक्त राष्ट्रसंघका विशेष दूत स्टाफान ड मिस्टुराले उक्त हवाई हमलालाई हिंसात्मक भनेका छन्।
समाचार संस्था रोयटर्सलाई इमेल गरिएको एउटा विज्ञप्तिमा उनले सहायताका लागि पठाइएका ती गाडीको लस्कर, एक्लिएका नागरिकलाई सहायता गर्न गरिएको लामो प्रकृयाको परिणाम भएको बताए।
एलेप्पोबाट विद्रोहीको नियन्त्रणमा रहेको विकट बस्तीमा ती गाडीले सहायता सामग्री पुर्याउने आफ्नो नियमित काम गरिरहँदा पछिल्लो घटना भएको सिरियन रेड क्रेस्सेन्टले बताएको छ।
अभियान समूह सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले रुस वा सिरियाको युद्धविमानबाट हमला हुँदा, सहायताकर्मी र ट्रक चालक गरेर १२ जनाको ज्यान गएको बताएको छ।
सिरिया सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन।
असोज ४ गते ।