नेपालमा एकसिङे गैँडाको संख्या ६४५, जलवायु परिवर्तनले गैँडा संरक्षण चुनौतीपूर्ण

काठमाडौँ । विश्वमै दुर्लभ मानिएको एकसिङे गैँडाका लागि नेपाल उर्वर भूमि भए पनि जलवायु परिवर्तनको असरले गैँडा संरक्षणमा चुनौती थपेको छ । विश्वमै नेपाल र भारतमा मात्र पाइने एकसिङे गैँडाको सङ्ख्या नेपालमा पछिल्ला वर्षमा वृद्धि हुँदै आएको छ । गैँडाका पाँच प्रजातिमध्ये एकसिङे गैँडा भारतमा दुई हजार पाँच सयभन्दा बढी छन् भने नेपालमा सन् २०१५ मा गरिएको गणनाअनुसार ६४५ रहेका छन् ।
विश्वव्यापी रूपमा जलवायु परिवर्तनको असरले अन्य दुर्लभ वन्यजन्तु र समग्र जैविक विविधताजस्तै एकसिङे गैँडालाई पनि प्रभाव पारेको गैँडाविज्ञ डा। शान्तराज ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार एक अध्ययन अनुसार सन् १९५० मा नेपालमा एकसिङे गैँडाको सङ्ख्या आठ सयभन्दा बढी थियो । यो ऐतिहासिक सङ्ख्या पुनः नेपालमा हुनसक्ने अवस्था छ तर जलवायु परिवर्तनले पारेका असरलाई पहिचान गरी त्यसलाई न्यूनीकरण गर्दै जाने हो भने मात्र यो सम्भव छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार सन् २०११ को गैँडाको गणनामा ५३४ रेकर्ड गरिएको गैँडाको सङ्ख्या सन् २०१५ मा आइपुग्दा ६४५ पुगेको छ । विभागका इकोलोजिस्ट लक्ष्मण पौडेलका अनुसार सन् २०१५ को गैँडाको गणनामा सबैभन्दा बढी एकसिङे गैँडा चितवन राष्ट्रिय निकुञ्जमा ६०५ रकेर्ड गरिएका छन् भने बर्दिया राष्ट्रिय निकुञ्जमा २९ गैँडा फेला परेका छन् । त्यसैगरी शुक्लाफाँटा वन्यजन्तु आरक्षमा आठवटा गैँडा रेकर्ड भएका छन् ।
तराईमा औलो उन्मूलन भई जताततै बस्ती बस्न थालेपछि जङ्गल विनाशसँगै गैँडाको सङ्ख्या पनि घट्दै गएको अर्का गैँडाविज्ञ डा। नरेश सुवेदीले बताउनुभयो । तराईका जङ्गल फाँडिने क्रमसँगै सन् १९७२ सम्म आइपुग्दा नेपालमा गैँडाको सङ्ख्या १४७ मात्र रहेको बताइएको छ । गैँडाविज्ञ डा। सुवेदीका अनुसार गैँडाको सङ्ख्या निकै घट्न थालेपछि संरक्षण अभियान प्रभावकारी सञ्चालन हुँदा पछिल्ला केही वर्षयता गैँडाको सङ्ख्यामा वृद्धि हुन थालेको छ । विभागले सन् २००० मा गरेको गैँडा गणनामा गैँडाको सङ्ख्या ६१२ पुगेको थियो ।
असोज ६ गते ।