प्रेमगीत २ मा नायिका अश्लिषा अनुवन्धित

काठमाडौँ । गत बर्षको सर्वाधिक चर्चित चलचित्र ‘प्रेमगीत’को दोस्रो श्रृङ्खला ‘प्रेमगीत २’का लागि नयाँ अनुहार फाइनल गरिएको छ । निर्माण पक्षले केही समय लगाएर अश्लिषा ठकुरीलाई नायिकाको रुपमा फाइनल गरेको हो । निर्माता सन्तोष सेनले अश्लिषा फाइनल भएको पुष्टी गरे । उनले ठकुरीको लुक्स र अभिनय क्षमता हेरेरै उनलाई चलचित्रमा लिएको बताए । सन्तोषले भने,‘हामीलाई बर्मेली लुक्स भएको युवती चाहिएको थियो । जुन अश्लिषाको भएकाले पनि चलचित्रमा अनुवन्धित गर्न सजिलो भयो ।’
२२ बर्षकी अश्लिषाले ६ महिनाको अभिनय कोर्स पनि सिकेकी छिन् । उनी थिएटरबाट चलचित्रमा प्रवेश गर्न लागेकी कलाकार हुन् । विरेन्द्र हमाल र सुनिल पोख्रेलबाट उनले अभिनय कोर्स सिकेकी हुन् । कात्तिकबाट छायांकनमा जाने चलचित्रमा नायक प्रदिप खड्काले अब अश्लिषासँग रोमान्स गर्नेछन् ।
चलचित्रलाई रामशरण पाठकले निर्देशन गर्दैछन् । थाइल्याण्ड, बर्मा र नेपालमा चलचित्रको छायांकन हुनेछ ।