छठसम्म पनि हाम्रा माग पूरा नभए समर्थन फिर्ता लिएर सडकमा जान्छौँ—सर्वेन्द्रनाथ शुक्ला, नेता, तमलोपा

 

sarbendranath-sukla
संघीय समाजवादी फोरमले प्रचण्ड नेतृत्वको सरकारको विरोध गर्न थालेको केही हप्तापछि मधेसी मोर्चाको एक घटक तराई–मधेस लोकतान्त्रिक पार्टीले पनि प्रचण्ड सरकारको विरोध सुरु गरेको छ । मधेसका समस्या समाधानका लागि प्रचण्डलाई प्रधानमन्त्री निर्वाचित गर्न समर्थन गरेको भन्दै तमलोपाका नेता सर्वेन्दनाथ शुक्लाले माग पूरा नभए सडकमा जाने चेतावनी दिनुभयो । उहाँले पछिल्लो समय सरकारका गतिविधिसँग असन्तुष्ट रहेको खुलेरै कुराकानी गर्नुभयो । छठसम्म पनि माग पूरा नभए सरकारका विरुद्धमा लाग्ने चेतावनी दिनुभएको शुक्लाले मैत्री न्युज डटकमसँग गरेको कुराकानीः

पछिल्लो समय प्रचण्ड नेतृत्वको सरकारसँग केही मनमुटाव भएको हो ?

तराई–मधेस केन्द्रित दलले नेकपा माओवादी केन्द्रका अधयक्ष प्रचण्डलाई प्रधानमन्त्री निर्वाचित गर्ने बेलामा गरेको चार बुँदे सहमतिको पहिलो बुँदामा नै संविधान संशोधन गर्ने भन्ने उल्लेख छ । तराई–मधेस, आदिवासी–जनजाति, उत्पीडितका मुद्धालाई पन्छाएर जसरी तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीले संविधान जारी गरे । त्यसमा तराई–मधेस, आदिवासी–जनजाति, उत्पीडितले सुरुमै असहमति व्यक्त गरेका हुन् । संविधानप्रति असहमति रहेकै कारण हामीले मधेस आन्दोलन जारी राखेका थियौँ । संविधान जारी गर्दा नेपाली कांग्रेसको नेतृत्वमा सरकार थियो । पछि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भयो । दुबै सरकारले हाम्रा मागको सम्वोधन गर्न नसकेकाले हामीले मधेस आन्दोलन जारी राखेको हो । प्रचण्ड नेतृत्वको सरकारलाई पनि हामीले प्रष्ट रुपमा भनेर नै समर्थन गरेका हौँ । यो कुरा उहाँले बुझ्नु भएको छ भन्ने हामीलाई लागेको छ ।

अनि जुन माग तपाईहरुले राख्नु भएको हो । ती मागका बारेमा प्रधानमन्त्री प्रचण्ड र सत्ता साझेदार दल नेपाली कांग्रेससँग कुराकानी भएको छ त ?

निश्चित रुपमा हामीले उहाँहरुसँग हाम्रा मागका बारेमा पकट–पटक कुराकानी गरेका छौँ । त्यही विषयमा छलफल पनि भएको छ । उहाँहरुले हामीलाई हुन्छ, भैरहेको छ, गर्दै छौँ पनि भन्नुभएको छ ।

ए भनेपछि तपाईँहरुका मागका बारेमा त नेपाली कांग्रेस र माओवादी त सकारात्मक नै रहेछन् नि त ?

मैले अघि पनि भने । उहाँहरुले हामीलाई हुन्छ, भैरहेको छ, गर्दैछौँ मात्रै भन्नुभएको छ । तर, हाम्रा मागका बारेमा उहाँहरु दुबै दल एक ठाउँमा भएको अनुभूति भएको छैन । उहाँहरुले हामीलाई विश्वास दिलाउँने गरी काम अघि बढाउँन सक्नु भएको छैन । उहाँहरुको कामको गति हेर्दा हामीलाई शंका उत्पन्न हुन थालेको छ । सुरु–सुरुमा उहाँहरुले निकै सक्रियता देखाउनु भएको थियो । त्यो अहिले विस्तारै सेलाउँदै गएको छ । यसले सम्झौतामा असर गर्ने निश्चित जस्तै भएको छ ।

भनेपछि तपाईँहरुका माग सम्बोधनका लागि सबै भन्दा पहिला नेपाली कांग्रेस र माओवादी एक ठाउँमा आउनु प¥यो भन्ने तपाईँहरुको भनाई हो, होइन त ?

हो, हामीले यही भन्दै आएका छौँ । जबसम्म कांग्रेस र माओवादी हाम्रा मागका बारेमा एक ठाउँमा आउँने वातावरण निर्माण हुँदैनन । तबसम्म सम्झौता कार्यान्वयन हुने कुरा पनि बलियो बन्दैन । संविधान संशोधन लगायतका मुद्धा पनि उहाँहरु एक ठाउँमा नआईकन समाधान हुँदैनन् । हामीले उहाँहरुको आश्वासन होइन, काम खोजेका छौँ । हामीलाई आश्वासन त पहिला–पहिला पनि आएकै हुन् नि । अब हामी आश्वासनमा होइन काममा मात्र विश्वास गर्छौ । तपाईँहरुका मागमा हामी अन्तिम–अन्तिमतिर पुग्यौँ भन्नुहुन्छ । तर, कुन खालको अन्तिम–अन्तिम हो । हामीलाई नै थाहा छैन । उहाँहरुले हाम्रा मागको सम्वोधन गर्ने गरी प्रक्रिया अघि नबढाएसम्म विश्वस्त हुने कुरा छैन ।

ए भनेपछि पछिल्ला दिनमा उहाँहरुले तपाईँहरुका माग सम्बोधनमा केही ढिलाई गरेको अनुभूति तपाईँहरुले गर्न थाल्नु भएको छ, होइन त ?

हो, मैले अघि पनि भने नि, उहाँहरु सुरुसुरुमा निकै सक्रियताका साथ अघि बढ्नु भएको थियो । छलफल पनि भएका थिए । तर, अहिले उहाँहरु हराउनु भएको छ । हाम्रा मागप्रति उहाँहरु विस्तारै टाढाटाढा हुँदै जानु भएको छ । यो राम्रो संकेत होइन । यसले थप समस्या ल्याउने निश्चित छ । त्यसैले उहाँहरुले यो दशैँ, तिहार, छठ अघि नै समस्या समाधान गर्ने गरी लाग्नुपर्छ । भएन भने यसको परिणाम गलत आउनसक्छ । त्यसको सबै जिम्मेवारी उहाँहरुले नै लिनुपर्छ ।

भनेपछि अब तपाईँहरु र सरकारबीचको सम्झौता विस्तारै संकटमा पर्दै आयो भन्ने बुझ्नु प¥यो, होइन त ?

संकट नै त नभनौँ । तर, ढिलासुस्तीले केही समस्या चाहिँ उत्पन्न भएका छन् । हामीले जुन मागसहित उहाँहरुलाई समर्थन गरेको हो । त्यो समर्थन फिर्ता लिएर हामी फेरि सडकमा नै जानु पर्ने अवस्था पनि आउँन सक्छ । हामी त्यो अवस्थामा पुग्नु नपरोस् भन्नेमा छौँ । उहाँहरुले जबरजस्ती सडकै जाने बाध्यता सिर्जना गर्नुभयो भने त हामी कसरी उहाँहरुलाई नै समर्थन गरेर बस्न सक्छौँ र ? अहिले दशैँ, तिहार, छठ जस्ता पर्वहरुले हामीलाई छपक्क छोपेको छ । यो बेला हामी आन्दोलनमै जानुपर्छ भन्नेमा छैनौँ । त्यही भएर पनि छठसम्म हामी सरकारलाई कुर्छौ । उहाँहरुले पनि देशको दीर्घकालिन समस्या समाधानका लागि सकारात्मक कदम चाल्न सक्नुहोस । यदि होइन भने त हामी आन्दोलनमा जानुको अर्को विकल्प हुँदैन । त्यतिबेला उहाँहरु पनि कहाँ पुग्नुहुन्छ । समयले नै बताउँछ । हामी समर्थनको मात्र गीत गाएर हिड्न सक्दैनौँ । हामीले समस्या समाधानको कुरा उठाउँदै आएका छौँ । हामीले रहरले आन्दोलन गरेको होइन । आन्दोलन गर्दा रमाईलो भएर पनि आन्दोलन गरेको होइन । हामीले आन्दोलन गरेको र अहिले सरकारलाई समर्थन गरेको समस्या समाधानका लागि हो । यो कुराको ख्याल उहाँहरुलाई होस भन्न मात्र हामीले खोजेका हौँ । उहाँहरु समस्या समाधानमा लाग्नु भएन भने त समर्थत स्वतः फिर्ता हुन्छ । यसमा यो वा त्यो भन्ने नै छैन ।

लामो समयको संघर्षबाट निर्माण भएको संविधान तपाईँहरुको जबरजस्ती कै कारण समस्यामा पर्ने संभावना भयो नि त ?

त्यस्तो होइन, हामीले संविधान नै चाहिँदैन कहिले भनेका छौँ ? हामीले त सबै वर्ग र समुदायका लागि हुने संविधान होस् भनेका छौँ । केहीका लागि मात्र हुने संविधानको हामीले विरोध गरेका हौँ । त्यही भएर नै हामीले संविधान संशोधनको कुरा उठाएको हो । संविधानका सबै कुरामा हाम्रो विमति भन्ने होइन । केही विमितिका बुँदा हामीले संशोधन गर्न भनेका छौँ । त्यो भएन भने हामी कसरी यो संविधान मानेर जान सक्छौँ ? हाम्रा माग पूरा भएनन् भने हामी माग पूरा गराउँने गरी आन्दोलनमा जान्छौँ ।

भारत भ्रमणपछि प्रचण्ड अमेरिका भ्रमणमा जाने तयारीमा हुनुहुन्थ्यो । तपाईँहरुकै आग्रहमा उहाँले अमेरिका भ्रमण नै स्थगन गरेर सहमतिको वातावरण निर्माण गर्दै हुनुहुन्छ भने कसरी तपाईँहरुका माग पूरा भएनन् वा गरेनन् भनेर भन्न मिल्ला र ?

हो, हामीले उहाँको अमेरिका भ्रमण स्थगन गर्न लगाएकै हौँ । उहाँलाई आन्तरिक समस्या हल नगरी अमेरिका भ्रमण जानु उचित छैन भनेपछि उहाँले स्थगन गर्नुभएको हो । तर, भ्रमण स्थगन गरे पनि हाम्रा मागका बारेमा भने गति सकारात्मक बनेको छैन । देशको समस्यालाई प्राथमिकतामा राख्नु पर्ने हुन्छ । उहाँले भारत, चीन वा अमेरिका भ्रमण गर्नु भन्दा यो जर्जर भएको देशको समस्या समाधान गर्नु पहिलो र प्रमुख काम हो । यसमा उहाँ लाग्नुहोस हाम्रो आग्रह छ । होइन भने उहाँ कता–कता रमाएर बस्ने हामीले समर्थन छ है भन्ने रहने त कसरी हुन्छ ?
मैले अघि पनि भने । हामीले संविधान जारी भएपछि मधेसी, उत्पिडित र आदीवासी–जनजातीका पक्षमा संविधान भएन भनेर आन्दोलन गरेको सबैलाई जानकारी भएकै कुरा हो । हामीले ती समस्या समाधानका लागि प्रचण्डलाई समर्थन गरेको हो । तर, उहाँहरुले पनि मधेसको मुद्धामा चासो नदेखाउनुले शंका उत्पन्न भएको छ । हामीले प्रचण्डजीलाई सम्झौताका आधारमा मत दिएको हो । उहाँले त्यो कार्यान्वयन गर्न सक्नु भएन भने उहाँ नै समस्यामा पर्नुहुन्छ ।

असोज १८ गते ।