माउन्टन फ्लाइटप्रति पर्यटकको बढ्दो आकर्षण

maitrinews

काठमाडौँ । यतिखेर अनुकूल मौसमले माउन्टेन फ्लाइट(पर्वतीय उडान) को आकर्षण निकै बढेको छ । खासगरी शरद ऋतु दृश्यावलोकन र पदयात्राका लागि उपयुक्त मौसम मानिन्छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी उडान भइरहेको सम्बद्ध कम्पनीले जनाएका छन् । तुलनात्मक रुपमा यस वर्ष पर्वतीय उडानको अवस्था राम्रो रहेको यति एयरलाइन्सका व्यवस्थापक भीमराज राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले दैनिक चारदेखि पाँच उडान भइरहेका छन् जुन विगतका वर्षका तुलनामा कम हो । भूकम्प र नाकाबन्दीका कारण अघिल्लो वर्ष यो सङ्ख्या घटेको थियो । त्यसअघिका वर्षमा दैनिक आठ वटासम्म उडान हुने गरेको थियो । पर्वतीय उडान काठमाडौँबाट आवतजावत गरी एक घन्टाको हुन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु भई गणेश हिमाल, सगरमाथा हुँदै कञ्चनजङ्घा हिमाल नजिक पुगेर पुनः काठमाडौँमा अवतरण हुन्छ । अग्ला हिमालसँगै महाभारत पर्वत शृङ्खलाको रमणीय दृश्य हेर्न स्वदेशी तथा विदेशी पर्यटक लालायित हुन्छन् ।
पर्वतीय उडानका लागि नेपाली र भारतीयलाई रु आठ हजार आठ सय २५ र अन्य मुलुकका नागरिकलाई एक सय ९७ अमेरिकी डलर भाडा लाग्छ । बुद्ध एयर, यति र सिम्रिक एयरलाइन्सले पर्वतीय उडान भर्दै आएका छन् । नेपाल वायु सेवा सञ्चालक सङ्घका प्रवक्ता घनश्याम आचार्यका अनुसार नेपालमा १८ निजी हवाई कम्पनीले उडान भर्छन् । तीमध्ये आधाभन्दा बढी हेलिकप्टर छन् । उपयुक्त वायुयान भएका र नियमित उडान भर्ने तीन कम्पनीले पर्वतीय उडान भर्ने गरेको आचार्यले बताउनुभयो ।