लिभरपुलका पूर्व कप्तान जेरार्डव्दारा १९ वर्षे खेल जीवन अन्त्य

काठमाडौं । लिभरपुलका पूर्व कप्तान स्टफेन जेरार्डले १९ वर्षे खेल जीवन अन्त्य गर्दै फुटबलबाट सन्यास लिएका छन् ।

३६ वर्षे जेरार्डले इंग्लिस क्लब लिभरपुलका लागि ७१० खेल खेलेका छन् र १८६ गोल गरेका छन् । उनले ८ उपाधि जितेका छन्, जसमा २००५ को च्याम्पियन्स लिग समेत पर्छ ।

उनी एफए कप, लिग कप, च्याम्पियन्स लिग र यूइएएफए कपको फाइनलमा गोल गर्ने एक्ला फुटबलर हुन् ।

लिभरपुल छाडेपछि उनी सन् २०१५ मा एमएलएस साइड एलए ग्यालेक्सीमा आवद्ध भएका थिए ।

इंग्ल्याण्डका पूर्व कप्तान जेरार्डले देशका लागि ११४ क्याप जितेका छन् र इंग्ल्याण्डका लागि धेरै खेल खेल्नेहरुको सूचीमा उनी चौथो नम्बरमा पर्छन् । उनले छ ठूला प्रतियोगिता खेले, जसमध्ये तीनमा कप्तानको भूमिका समेत निभाएका छन् ।

एक महिना अघि एलए ग्यालेक्सी छाडेका उनी एमके डनस् को प्रशिक्षक बन्ने चर्चा समेत थियो । तर, सन्यासको घोषणा गर्दै जेरार्डले यो अबसर छिट्टै आउने बताएका छन् ।

लिभरपुलका प्रशिक्षक क्लोपले गत अक्टोबरमा नै जेरार्डका लागि सँधै ढोका खुला रहेको बताएका थिए, जसले १७ वर्ष क्लबमा विताएका छन् ।