विश्वविद्यालयका विद्यार्थीलाई घरमै बसीबसी सर्टिफिकेट

काठमाडौँ । नेपालमा खुलेका विश्वविद्यालयहरुमध्ये पूर्वाञ्चल विश्वविद्यालय,पोखरा विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालय राजनीतिकरणको शिकार भएका छन् । ती विश्वविद्यालयका शैक्षिक कार्यक्रम अनियमित छन् । चारवर्षे शैक्षिक कार्यक्रम छ सात वर्षसम्म पूरा नहुने अवस्था छ । शैक्षिक शल्क तिरेपछि विद्यार्थी कलेज नै नगई घरमै बसीबसी सर्टिफिकेट बाँड्ने गरिएको छ । अनुशासनहीन बन्दै गएका यस्ता शैक्षिकसंस्थाबाट उत्पादित जनशक्ति कसरी राम्रो बन्न सक्छ ? विश्वविद्यालयका अराजक गतिविधि देखरे अहिले अभिभावकहरु चिन्तित बनेका छन् ।
विराटनगरमा रहेको सन् १९९३ मा स्थापना भएको पूर्वाञ्चल विश्वविद्यालय संख्यात्मक रुपले त ठूलो छ । यो विश्वविद्यायल स्थापना भएपछि यो क्षेत्रको मुहार फेरिने अपेक्षा गरिएको थियो । तर जन अपेक्षा अनुसार यसले काम गर्न सकेन ।
यो विश्वविद्यायलअन्तर्गत पाँच आंगिक र ११६ वटा कलेजमा २२ हजारभन्दा बढी विद्यार्थी रहेका छन् । तर यसको गुणस्तर खस्कँदै गएको छ । समयमा पढाइ र परीक्षा नहुने, प्राध्यापकहरुले राम्ररी नपढाउने समस्याबाट पीडित बनेको छ ।
उता पश्चिमाञ्चल विश्वविद्यालयका रुपमा रहेको पोखरा विश्वविद्यालयको अवस्था पनि दयनीय बनेको छ । सन् १९९७ मा स्थापना भएको यो विश्वविद्यालयअन्तर्गत आंगिक ८ र २४ सम्बन्धन गरी ३२ वटा कलेज सञ्चालित छन् । करिब ५ हजार विद्यार्थी रहेको यो विश्वविद्यालयको शैक्षिक कार्यक्रम लगालिंग भएकाले समयमै शैक्षिक सत्र पूरा गर्न सकेको छैन ।
दाङमा रहेको नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत १२ वटा कलेजमा गरी ३५ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । यो विश्वविद्यालय पनि राजनीतिको शिकार भएकाले यसको अवस्था दयनीय बन्दै गएको छ । दक्ष जनशक्ति उत्पादन गर्न सकिरहेको छैन ।