बालमैत्री चलचित्र ‘ज्योति’ प्रदर्शनीमा

रसुवा । सुन्तली धुर्मुस फाउन्डेसनले तयार गरेको बालमैत्री चलचित्र ‘ज्योति’ धुन्चेमा प्रदर्शन भएको छ ।

पुराना रुढीवाढीको अन्त गर्दै सबै बालबालिकालाई स्वतःस्फुर्त रुपमा अगाडि बढ्ने वातावरण सिर्जना गरी “राष्ट्रनिर्माण तपाई हाम्रो अभियान” भन्ने नारालाई सार्थक पार्न सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत युनिसेफको सहयोगबाट ‘ज्योति’ चलचित्र तयार गरी चेतनाको वृद्धि विकासका लागि जिल्लामा प्रदर्शनी गरिएको सो फाउन्डेसनका अध्यक्ष तथा हास्य कलाकार सीताराम कट्टेल धुर्मुसले बताउनुभयो ।

प्रदर्शन गरिएको चलचित्रले अभिभावकको चेतना बढ्न गई बालबालिकाले अभिभावकबाट थप मायाममता पाउने, नीति निर्माणबारे सानैदेखि प्रशिक्षित हुने, कुनैपनि होटल रेस्टुराँमा काम गर्न नपठाउने जस्ता कार्यमा जागरण बढ्ने विश्वास गरिएको बताइएको छ ।

बालबालिकाको उज्वल भविष्यका लागि गुणस्तरीय शिक्षातर्फ केन्द्रित गराउन चलचित्र प्रदर्शनमा लगभग ३०० स्थानीय बासिन्दा सहभागी भएका थिए ।

चलचित्र देखाउनुपूर्व पत्रकारसँग अन्तक्र्रिया गर्दै आफ्नो संस्थाले सामाजिक योगदानमा पु¥याएको योगदानबारेमा कलाकार कुन्जना घिमिरे सुन्तलीले पत्रकारमाझ जानकारी गराउनुभयो । कलाकार धुर्मुसले मञ्चबाट घरघरमा शौचालय निर्माण र सरसफाइमा विशेष ध्यान दिन समेत सहभागीलाई आग्रह गर्नुभएको थियो ।