परिवारकै कारण नन्दप्रसाद अधिकारीको अत्येष्टी हुन सकेनः आयोग

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले परिवारकै कारण नन्दप्रसाद अधिकारीको शब दाहसंस्कारमा समस्या भएको बताउनु भएको छ । छोरा कृष्णप्रसादको हत्यारालाई कारबाहीको माग गर्दै अनसनमा बसेका अधिकारीको गत २०७१ असोज ६ गते बीर अस्पतालमा मृत्यु भएको थियो । तर, उनको मृत्यु भएको लामो समय हुँदा पनि अन्तेष्टी हुन सकेको छैन ।
शुक्रबार विद्यार्थी सरोकार नेपाल र ग्रामीण युवा सरोकार केन्द्रले बुझाएको ज्ञापनपत्र बुझ्दै अध्यक्ष शर्माले अधिकारीको परिवारको कारण शव अत्येष्टी हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले अधिकारीको पत्नी गंगामायासँग पनि धेरै पटक कुरा गरिसकेका छौं । तर, उहाँले छोराको अनुमति र उपस्थीतिमा मात्रै अन्तेष्टी हुने बताउनुभयो । छोराहरु सम्पर्कमा आउनु भएको छैन, त्यसैले समस्या भएको हो ।’
यी दुई संस्थाले नन्दप्रसादको मृत्यु संस्कार समेत हुन नसकेको भन्दै ज्ञापनपत्र बुझाएका हुन् । ‘मानव अधिकार क्षेत्रमा कार्यरत हामीलाई हरेक दिन त्रिवि शिक्षण अस्पतालमा रहेको मृतक नन्दप्रसाद अधिकारीको पार्थिव शरीर र परिवारको पीडाले झस्काइ रहन्छ,’ ज्ञापनपत्रमा भनिएको छ ।
०६१ सालमा तत्कालिन नेकपा माओवादीले १७ वर्षे छोराको अपरहण गरेर हत्या गरेको उनीहरुको आरोप छ । दम्पत्तीका छोरा कृष्णप्रसादलाई ०६१ जेठ २४ गते चितवनकोे बकुलर चोकमा हत्या गरिएको थियो ।
०७० माघ २३ गतेदेखि प्रधानमन्त्री निवास बालुवाटार अगाडि अनशनमा बस्नुभएका अधिकारी दम्पत्तीलाई प्रहरीले मानसिक अवस्था खलबलिएको भन्दै पाटन मानसिक अस्पतालमा भर्नासमेत गराएको थियो । पछि अस्पतालले उहाँहरुमा कुनै मानसिक समस्या नभएको भन्दै छाडिदिएको थियो । त्यसपछि अधिकारी दम्पती सिधै तत्कालीन मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीको निवास बालुवाटार अघिल्तिर सडक पेटीमै अनसन बस्नुभएको थिए । अनशनकै क्रममा अधिकारीको मृत्यु भएको थियो ।