तम्घासमा झडपपछि बजार तनावग्रस्त, सांसदसहित दुई दर्जनभन्दा बढी घाइते

maitrinews

तम्घास । प्रहरी र बन्दकर्ताबीच झडप भएपछि गुल्मी सदरमुकाम तम्घास बजार तनावग्रस्त भएको छ । आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालयमा लगाएको ताला प्रहरीले खुलाउन खोज्दा दुबै पक्षबीच झडप भएको हो । झडपमा नेकपा मालेकी सांसद कमला विकसहित दुई दर्जनभन्दा बढी आन्दोलनकारी घाइते भएका संघर्ष समितिले जनाएको छ ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले करिब दुई दर्जन अश्रुग्यास प्रहार गरेको छ । आक्रोशित आन्दोलनकारीले दुईवटा सवारी साधनमा आगजनी समेत गरेका छन् । बा १ झ ६६८१ नम्बरको जिल्ला विकास समितिको गाडी र वास प्रोजेक्टको ६६(१(०(७५५ नम्बरको निलो प्लेटको गाडीमा आगजनी भएको हो ।
पाँच नम्बर प्रदेशको सीमांकन हेरफेरको विरोधमा गुल्मीमा जारी आन्दोलनको आज १७ औं दिन हो । बन्दका कारण बजार, यातायात, सरकारी कार्यालय, शिक्षण संस्था सबै ठप्प हुँदा सर्बसाधारण मर्कामा परेका छन् ।