स्थानीय तहको चुनावबारे सर्वोच्चमा एमिकस क्युरीको बहस

काठमाडौं। स्थानीय तहको निर्वाचनको मागसहित सर्वोच्च अदालतमा दायर रिट निवेदनमा आज छ जना कानुन व्यवसायीले अदालतको सहयोगी एमिकस क्युरीका रूपमा बहस गर्दै छन् ।
नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले तीन–तीन जना कानुन व्यवसायीलाई एमिकस क्युरीको रूपमा सिफारिस गरेको छ । एमिकस क्युरीले स्थानीय निकायको निर्वाचन संविधानतः मिल्ने नमिल्ने विषयमा तटस्थ रूपमा बहस गर्नेछ । न्यायाधीशद्वय चोलेन्द्रशमशेर जबरा र हरिकृष्ण कार्कीको इजलासले गत बुधबार नेपालको संविधानको धारा ३०३ बमोजिम स्थानीय निकायको निर्वाचन सम्पन्न गर्न सकिने हो वा होइन भन्ने सम्बन्धमा गम्भीर संवैधानिक प्रश्न समावेश भएको भन्दै नेपाल बार र सर्वोच्च बारबाट तीन–तीनजना एमिकस क्युरी बोलाउने आदेश गरेको थियो ।
सर्वोच्च अदालतको आदेशानुसार नेपाल बारले वरिष्ठ अधिवक्तात्रय विपुलेन्द्र चक्रवर्ती, सुशीलकुमार पन्त र प्रेमबहादुर खड्कालाई एमिकस क्युरीको रूपमा सिफारिस गरेको छ । यस्तै, सर्वोच्च अदालत बारले वरिष्ठ अधिवक्ताद्वय विश्वकान्त मैनाली र पूर्णमान शाक्य र अधिवक्ता शैलेन्द्र दाहाललाई सिफारिस गरेको छ ।
नेपालको संविधानबमोजिम स्थानीय तहको सङ्ख्या र क्षेत्र निर्धारणमा लामो समय लाग्ने सम्भावना रहेको दाबी गर्दै अधिवक्ता डा। चन्द्रकान्त ज्ञवालीले स्थानीय तहको सङ्ख्या र क्षेत्र निर्धारण नभएसम्म स्थानीय निकायको निर्वाचन गराउन सरकारको नाममा आदेशको मागसहित रिट निवेदन दर्ता गराउनुभएको थियो । त्यसै निवेदनमा अधिवक्ता सुनीलकुमार पटेलले सरिक हुन छुट्टै निवेदन दिनुभएको थियो ।