सहमति गर्न सभामुखको आग्रह, प्रचण्ड सहमतिको खोजीमा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख ओनसरी घर्तीबीच भेटवार्ता भएको छ । आज बिहानै बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्दै सभामुखले पुस २४ गतेसम्म संसद स्थगित भएको समयमा दलहरुवीच सहमति जुटाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।
सभामुख ओनसरी घर्तीले अन्य दलका प्रमुख नेताहरुलाई मंगलबार नै भेटवार्ता गर्नुभएको थियो ।
‘एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सभामुखको भेट हिजो नयाँ बानेश्वरमा भयो । कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेस नेता रामचन्द्र पौडेलसँग सभामुखको कुराकानी भयो । कांग्रेस सभापति शेरबहादुर देउवालाई घर्तीले मंगलबार टेलीफोन गरेर पुस २४ सम्म सहमति खोज्न आग्रह गर्नुभयो ।’बालुवाटारमा भएको भेटमा सभामुख घर्तीले प्रधानमन्त्री प्रचण्डलाई सरकारको नेतृत्वकर्ताको हैसियतले दलहरुवीच सम्वाद गरी सहमति खोज्न आग्रह गर्नुभयो ।
सभामुखको आग्रहपछि प्रधाानमन्त्री प्रचण्डले आजैदेखि सहमति खोज्न लागिपर्ने बताउनुभयो ।