ओली निवासमा श्रष्टाहरुको जमघट,ओली अडानको प्रशंसा

बालकोट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा वरिष्ठ श्रष्टाहरुको जमघट भएको छ । बुधबार भएको जमघटमा साहित्यकार वैरागी कार्इंला, जनगायक रामेश, प्रााज्ञ आनन्ददेव भट्ट, नेपाल कम्युनिस्ट पार्टीका पुराना नेता डीपी अधिकारी, वरिष्ठ संगीतकार यादव खरेल, साहित्यकार मञ्जु काँचुली नगेन्द्रराज शर्मा, गोपीरमण उपाध्याय, रोचक घिमिरे र राष्ट्रकवि माधवप्रसाद घिमिरे सहभागी हुनुहुन्थ्यो ।
जमघटमा कुराकानी सुरु भयो समसामयिक राजनीतिको विकृतिबाट । नेपाल कम्युनिस्ट पार्टीका पुराना नेता डीपी आधिकारसँगै पुगेकी उहाँकी श्रीमती चन्द्रा अधिकारीले प्रश्न गर्नुभयो– ‘तपाईंले प्रधानमन्त्री भएर ज्यादै राम्रो गर्नु भएको थियो तर, खुट्टा तानेर लडाए । यसरी नौ–नौ महिनामा सरकार फेर्ने नियम किन बनाउनु भो ?’ ओलीले तत्कालै स्पष्टिकरण दिनुभयो– यो नियमले भएको होइन नियतले भएको हो ।
‘देशका लागि सिर्जनाको क्षेत्रमा गुन लगाएका अग्रजहरुसँग एकदिन बस्नु पर्छ जस्तो लागेको धेरै भएको थियो । समय नजुर्ने । आज बल्ल मिलेको थियो, त्यो पनि यातायातको बन्दले असर पारिहाल्यो’ ओलीले भन्नुभयो ।
केहीबेर उहाँहरुबीच राजनीति, साहित्य, संगीत, परिवार, स्वास्थ्य आदि इत्यादि विषयमा कुरा भए । जमघटमा ओली पत्नी राधिका शाक्य पाहुनाहरुलाई खुवाउने काममा आफैं सक्रिय हुनुभयो । खाना खाइसकेपछि विस्तारै छुट्टिे क्रम सुरु भयो ।
राष्ट्रकवि माधव घिमिरेले सबैको ध्यान खिच्नुभयो । लड्खडाउँदो स्वरमा राष्ट्रकविले सबैलाई सम्बोधन गरेको शैलीमा भन्नुभयो– ‘पोहोर भारतले नाकाबन्दी लगायो, हाम्रो तर्फबाट लड्ने नेतालाई हामीले भुल्नुहुन्न । चीनसँग पनि बाटो लिएर त्यता पनि हाम्रो बन्दब्यापार गर्ने ढोका खोल्नु भो । हामी कोही पनि यो बिर्सन सक्दैनौं । देशको स्वाभिमानको रक्षा गर्न ओलीको नेतृत्वलाई साथ दिनुपर्छ ।’
सबैजसो श्रष्टाहरुले गतवर्ष प्रधानमन्त्री भएका बेला ओलीले वालुवाटारमा गरेको साहित्यकारको जमघटको पनि स्मरण गरेका थिए । अन्त्यमा ओलीले सबैका छातीमा राष्ट्रिय झण्डाको लोगो लगाइदिनुभयो ।