जनप्रदर्शनको ब्यापक तयारी, एमाले जीवित हुँदासम्म देश विखण्डन हुन दिन्नौँ : गौतम

काठमाडौँ । नेकपा (एमाले) सहितका ९ राजनीतिक दलको आयोजनामा पुस २२ गते राजधानीमा हुने बृहत जनप्रदर्शनको तयारी तीब्र गतिमा अघि बढिरहेको छ । जनप्रदर्शनमा लाखभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ ।
यसैक्रममा भोलिको जनप्रदर्शनलाई व्यवस्थित गर्न पाँच सय स्वयम्सेवक परिचालन गरिनेछ । आज बिहाननेकपा (एमाले) केन्द्रीय कार्यालयमा स्वयम्सेवकका लागि निर्देशन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पार्टी उपाध्यक्ष वामदेव गौतमले अनुशासित र चनाखो भएर काम गर्न स्वयम्सेवकहरूलाई निर्देशन दिनुभयो ।
अभद्र तथा उच्छृंखल गतिविधिहरूमाथि निगरानी गर्दै जनप्रदर्शनलाई भव्य र शानदार ढंगले सम्पन्न गर्न उहाँले जोड दिनुभयो । नेकपा (एमाले) जीवित रहँदासम्म यो देशलाई विखण्डन हुन नदिने र जातीय तथा साम्प्रदायिक
सद्भाव बिथोल्नेहरूलाई सफल हुन नदिने उद्घोष पनि उहाँले गर्नुभयो ।
भोलि पुस २२ गतेको जनप्रदर्शन दिउँसो १ बजे रत्नपार्कबाट सुरु हुनेछ । त्यसभन्दा अघि विभिन्न ४० स्थानबाट जुलुसहरू रत्नपार्क आउनेछन् । एकीकृत जुलुस रत्नपार्कबाट पुरानो बसपार्क, भद्रकाली, सहिदगेट,
न्यूरोड गेट, भोटाहिटी, रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै प्रदर्शनीमार्गमा सभामा परिणत हुनेछ ।
सभालाई ९ राजनीतिक दलका प्रमुखहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
पुस २२ गतेको जनप्रदर्शन र त्यसअघि हुने मोटरसाइकल र्यालीलगायतका प्रचार–प्रसारका कामहरूले आम सर्वसाधारणको आवतजावतमा कठिनाई नहोस् भन्ने कुरामा आयोजक पार्टीहरू सचेत छन् । त्यसप्रति आम जनसमुदायबाट संयम र धैर्यताको अपेक्षा गर्दछौं ।
असंवैधानिक, राष्ट्र र जनविरोधी, सामाजिक सद्भाव र एकताविरुद्ध प्रस्तुत गरिएको संविधान संशोधन प्रस्तावलाई असफल पार्दै नेपाल राष्ट्र र नेपाली जनताको भविष्यलाई सुनिश्चित गर्ने ध्येयले आयोजना गरिएको भोलि पुस २२ गतेको जनप्रदर्शनमा सहभागी भई नेपाली जनताको सुदृढ एकता प्रदर्शनमा आम जनसमुदायमा अपिल गरिएको छ ।