निर्वाचन गर्न दिन्न भन्नु अराजक ः सचिव ज्ञवाली

 

भक्तपुर, २९ पुस । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले मधेसी मोर्चाले निर्वाचन गर्न दिन्न भन्नु अराजक भएको बताउनुभएको छ ।

रफत सञ्चार क्लबले आज भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा सचिव ज्ञवालीले मधेसी मोर्चाको सो भनाइ लोकतान्त्रिक मूल्य र मान्यता विपरीत छ भन्नु भयो ।

उहाँले मधेसको मसिहा ठान्ने मधेसवादी दलले निर्वाचनमा ८० प्रतिशत सिट जितेर देखाउन चुनौती दिँदै आठ, १० सिट जितेर आउनेले संविधान संशोधनको कुरा गर्नु गलत भएको बताउँदै निर्वाचनमा गएर जनताको ताजा जनादेश प्राप्त गरी आफू अनुकूल संविधान संशोधन गर्न मोर्चालाई आग्रह गर्नुभयो । सबैको माग र उद्देश्य निर्वाचनले पूरा गर्ने भन्दै उहाँले यसको उपयोगबाट चुके मधेसी मोर्चा इतिहासमा सीमित हुने दाबी गर्नुभयो ।

उहाँले संविधान कार्यान्वयनको पहिलो पाटो संशोधन नभएर निर्वाचन भएको बताउँदै वर्तमान समयमा निर्वाचन नै सबैको मिलन बिन्दु भएको जिकिर गर्नुभयो ।

उहाँले मधेसी मोर्चाकै कारण सङ्घीयताबारे गलत भ्रम फैलन थालेको बताउनुभयो । तराई र पहाड छुट्याउने र जातजातिबीच दूरी बढाउने लगायतको काम भइरहेको भन्दै उहाँले सङ्घीयतालाई विफल पार्ने काम विभिन्न शक्ति केन्द्रबाट भइरहेको आरोप लगाउनुभयो । रासस