प्रतिबन्धित भारु साट्न भारत गएको नेपाली टोली रित्तै फर्कियो, नेपालको कूटनीति असफल

maitrinews

 
काठमाडौं । भारत सरकारले प्रतिबन्ध लगाएको प्रतिबन्धित ५०० र १००० दरका भारु नोट साट्न भारत गएको नेपाल राष्ट्र बैंकको टोली रित्तै हात फर्किएको छ । नेपालमा रहेका प्रतिबन्धित भारु नोट साट्ने विषयमा भारतले कुनै निर्णय नदिएपछि नेपाली टोली रित्तो हात फर्किएको हो ।
नेपालमा रहेका प्रतिबन्धित नोट साट्ने व्यवस्था मिलाउन राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका सहसचिव, नेपाल राष्ट्र बैंकको विदेशी विनियम विभागका प्रमुख र २ जना विज्ञ सहितको टोली बुधबार भारत गएको थियो ।
नेपालमा रहेका प्रतिबन्धित नोट साटिदिन भारतले आनाकानी गरेपछि केन्द्रीय बैंकको उक्त टोली भारत गएको थियो । प्रतिबन्धित भारु नोटको चिन्ता हटाउन राष्ट्र बैंकले सक्रियता देखाए पनि भारतले ठोस निर्णय दिन सकेको छैन ।
डेपुटी गभर्नर शिवाकोटीले भारु नोट साट्ने विषयमा भारत सकारात्मक देखिए पनि निर्णयमा भने पुग्न नसकिएको बताउनुभयो ।
नेपालमा रहेका प्रतिबन्धित नोट साटिदिन भारतले आनाकानी गरेपछि केन्द्रीय बैंकको उक्त टोली भारत गएको थियो । प्रतिबन्धित भारु नोटको चिन्ता हटाउन राष्ट्र बैंकले सक्रियता देखाए पनि भारतले ठोस निर्णय दिन सकेको छैन ।

यसअघि पनि राष्ट्र बैंकको एक टोली भारत जाने तयारी गरेकोे थियो । तर, भारतले ५०० र हजार दरका नोट साट्ने विषयमा आफू सकारात्मक भएको जानकारी गराएपछि टोली रोकिएको थियो ।

भारत सरकारले आफ्ना नागरिकलाई प्रतिबन्धित भारु नोट साट्न दिएको समय सकिँदासम्म पनि नेपालमा रहेका नोटकोबारे कुनै टुंगो लागेको छैन । भारतले केही उत्तर नपठाएपछि नेपालमा रहेका उक्त दरका नोटकोे वैधानिक अस्तित्व समाप्त भएको कतिपयको भनाइ छ । नेपाल राष्ट्र बैंक भने अझै पनि नोट साटिनेमा आशावादी छ ।
प्रतिबन्धित नोट भारतले साटिदिने आश अझै नमरेको राष्ट्र बैंकको भनाइ छ । ‘भारतले ५०० र हजार दरका भारु नोट साट्नेमा आशावादी छौंं,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘नेपाल र भुटानमा भएका प्रतिबन्धित नोटबारे भारतले विशेष व्यवस्था गर्ने सम्भावना टरेको छैन ।’

नेपालको बैंकिङ प्रणालीमा प्रतिबन्धित ५०० र हजार दरका ३ करोड ३६ लाख ९० हजार भारु नोट रहेको राष्ट्र बैंकको तथ्यांक छ । यसबाहेक सर्वसाधारण, व्यापारी लगायतसँग ठूलो परिमाणमा भारु नोट छ । भारतले प्रतिबन्धित नोट साट्ने वा नसाट्ने भन्नेबारे ठोस निर्णय दिन नसक्दा यहाँ अन्योल छाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत कात्तिक २४ गते बुधबार सम्बोधन गर्दै राति १२ बजेदेखि ५०० र हजार दरका नोट नचल्ने घोषणा गर्नुभएको थियो । भ्रष्टाचार र कालो धनलाई निरुत्साहित गर्न यस्तो निर्णय गरेको भारत सरकारको तर्क छ । नेपाल राष्ट्र बैंकले पनि त्यसको भोलिपल्टैदेखि उक्त दरका नोट सटहीमा प्रतिबन्ध लगाएको थियो । त्यसपछि नेपालमा रहेका प्रतिबन्धित नोट साट्न भारतसँग पहल सुरु भएको थियो ।

भारतले चासो देखाएर नेपालमा रहेको नोट साट्न तत्पर भयो भने मात्र राष्ट्र बैंकले कानुनी रुपमा सर्वसाधारणसँग रहेका भारतीय मुद्रा थोरै मात्रामा साटिदिन सक्ने छ । करिब दुई वर्षअघिसम्म नेपालमा ५ सय र हजार दरका भारुमाथि प्रतिबन्ध थियो । भारत सरकारको अनुरोधमा नेपाल राष्ट्र बैंकले २०६७ चैतमा ५ सय र हजार दरका भारतीय रुपैयाँमाथि प्रतिबन्ध लगाएको थियो ।