१० लाखभन्दा बढी आप्रवासी भित्र्याएर जर्मनीले ठूलो गल्ती गरेको ट्रम्पको भनाइ

अमेरिका । अमेरिकी राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले ब्रिटेन र जर्मनीस्थित दुई अग्रणी अखबारलाई अन्तर्वार्ता दिदैं आफ्ना विदेश नीति प्राथमिकताको खाका प्रष्ट पार्नुभएको छ।

लण्डनको द टाइम्सु र जर्मन अखबार बिल्टुलाई दिएको अन्तर्वार्तामा ट्रम्पले जर्मन चान्सलर एंगेला मर्केलले १० लाखभन्दा बढी आप्रवासीहरुलाई प्रवेश अनुमति दिएर विपत्ति निम्त्याउने खालको गल्ती गरेको टिप्पणी गर्नुभयो।
तर उहाँले मर्केल युरोपको सबैभन्दा महत्वपूर्ण नेता भएको र जर्मनीका लागि युरोपेली संघ इयु साधन भएको बताउनुभयो।

रुस र चीनसँगको सम्बन्धदेखि लिएर मध्यपूर्वसम्मका मुद्दामा पनि उहाँले आफ्नो धारणा राख्नुभएको छ।
उहाँले बाँकी विश्वसँग अमेरिकाले व्यापार घाटा बेहोरिरहेको भन्दै उक्त समस्या सम्बोधन हुने सम्झौता गर्न आफूले चाहेको बताउनुभयो।
खासगरी चीनसँग त्यसो गर्न चाहेको उहाँको भनाइ थियो।
उहाँले भन्नुभयो, ूचीनसँग हाम्रो सयौं अर्ब डलरको व्यापार घाटा छ। विश्वसँग ८ सय ५ अर्ब डलर व्यापार घाटा छ। हामीले त्यत्रो परिमाणमा पैसा गुमाइरहेका छौंू।
रुसले पारमाणविक हतियार उल्लेखनीय रुपमा कटौती गरे त्यसको बदलामा मस्कोमाथिका प्रतिवन्धहरु खुकुलो पार्न सकिने उहाँले बताउनुभयो।
उहाँले मध्यपूर्वबारे टिप्पणी गर्दै सन् २००३ मा इराकमाथि आक्रमण गर्नु आफ्नो देशको इतिहासमै सबैभन्दा ठूलो भूल भएको बताउनुभयो।
उहाँले सिरियाभित्रै सुरक्षित क्षेत्रहरु बनाइनुपर्ने भन्दै त्यसका लागि खाडीका अमेरिकी मित्रहरुले खर्च बेहोर्नुपर्ने बताउनुभयो।
उहाँले ब्रिटेन इयुबाट बाहिरिने उक्त मुलुकको निर्णयबारे कुरा गर्दै त्यसलाई आफ्नै पहिचान कायम गर्ने दिशामा महत्वपूर्ण कदम भन्नुभयो।