स्वीकृति नलिई निजी स्वाथ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीलाई कारबाही गरिने

काठमाडौँ । सरकारी स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीले निजी स्वास्थ्य संस्थामा काम गर्न अनिवार्य स्वीकृत लिनुपर्ने भएको छ ।
उनीहरूले कार्यालय समय बाहिरका समयमा आफू कार्यरत स्वास्थ्य संस्थाका काममा बाधा नपुग्ने गरी निजी संस्थामा गर्न आगामी फागुन मसान्तभित्र स्वीकृतिका लागि स्वास्थ्य मन्त्रालयमा निवेदन दिइसक्नुपर्नेछ । यसअघि यस्तो स्वीकृति प्राप्त गरेका वा नगरेका सबैले सोही अबधिभित्र निवेदन दिनुपर्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

निजी स्वास्थ्य संस्थाले पनि सरकारी सेवामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई काममा लगाउँदा मन्त्रालयको अनिवार्य स्वीकृति लिनुपर्ने भएको छ । स्वीकृति नलिई सरकारी सेवामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई काममा लगाएको पाइएमा त्यस्ता संस्थाको अनुमतिपत्र नवीकरण नहुने र कानुनबमोजिम कारबाही हुने मन्त्रालयले बनाएको नयाँ निर्देशिकामा उल्लेख छ ।

सरकारी स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीले अनिवार्य पालना गर्नुपर्ने सेवा सर्तसम्बन्धी निर्देशन, २०७३ आजै मन्त्रिपरिषद्बाट पारित भएको हो । नियमित कार्यालय समयभन्दा अतिरिक्त सेवा गर्नुपर्ने चिकित्सक, नर्स एवम् स्वास्थ्यकर्र्मीलाई अतिरिक्त सेवा सुविधा प्रदान गरी स्वास्थ्य सेवा प्रवाहलाई थप गुणस्तरीय बनाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको स्वास्थ्यमन्त्री गगनकुमार थापाले बताउनुभयो ।

स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ५२ मा कर्मचारीले सरकारबाट निर्धारित समयमा नियमित रुपले कार्यालयमा हाजिर हुनुपर्ने बिदाको स्वीकृति नलिई कामबाट अनुपस्थित हुन नहुने व्यवस्था छ ।