विदेशी विनिमय सञ्चितिमा वृद्धि

काठमाडौं, ९ माघ
पछिल्लो समयमा मुलुकको कुल विदेशी विनिमय सञ्चिति बढेको छ । रेमिट्यान्स आयमा भएको शुधारसँगै यस्तो सञ्चिति बढेको हो ।
नेपाल राष्ट्र बैंकको एक तथ्याङक अनुसार २०७३ असार मसान्तको तरलनामा यस्तो सञ्चिति ३ दशमलव ६ प्रतिशतले वृद्धि भई २०७३ मंसिर मसान्तमा १०७६ अर्ब ८४ करोड पुगेको हो । २०७३ असार मसान्त यो १०३९ अर्ब २१ करोड थियो ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७३ असार मसान्तको ८८७ अर्ब १ करोडको तुलनामा २०७३ मंसिर मसान्तमा २.९ प्रतिशतले वृद्धि भई ९१२ अर्ब ८६ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूसँग रहेको विदेशी विनिमय
सञ्चिति २०७३ असार मसान्तको १५२ अर्ब २० करोडको तुलनामा ७.७ प्रतिशतले वृद्धि भई १६३ अर्ब ९८ करोड पुगेको छ । कुल सञ्चितिमा भारतीय मुद्रा सञ्चितिको अंश २१ दशमलव ९ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०७३÷७४ को पाँच महिनासम्मको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४ दशमलव ३ महिनाको वस्तु आयात र १२ दशमलव ४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४७ दशमलव ९ प्रतिशत, १०३ दशमलव ५ प्रतिशत र ४५ दशमलव १ प्रतिशत रहेका छन् । २०७३ असार मसान्तमा यस्ता अनुपातहरू क्रमशः ४६ दशमलव २ प्रतिशत, ११७ दशमलव ४ प्रतिशत र ४६ दशमलव ३ प्रतिशत रहेका थिए ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम को मूल्य २०७२ मंसिर मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ३७ दशमलव ६६ डलर रहेकोमा २०७३ मंसिर मसान्तमा ३७ दशमलव ३ प्रतिशतले वृद्धि भई प्रति ब्यारल अमेरिकी डलर ५१दशमलव ७२ कायम भएको छ । त्यसैगरी, सुनको मूल्य २०७२ मंसिर मसान्तमा प्रति आउन्स अमेरिकी डलर १०६१ दशमलव ५० रहेकोमा २०७३ मंसिर मसान्तमा ६ दशमलव २ प्रतिशतले वृद्धि भई प्रति आउन्स अमेरिकी डलर ११२६ दशमलव ९५ पुगेको छ ।
२०७३ असार मसान्तको तुलनामा २०७३ मंसिर मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग शुन्य दशमलव ९ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ अमेरिकी डलरसँग ५ दशमलव ५ प्रतिशतले अवमूल्यन भएको थियो । २०७३ मंसिर मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १०७ दशमलव ७० पुगेको छ । २०७३ असार मसान्तमा उक्त विनिमय दर १०६ दशमलव ७३ रहेको थियो ।