हिमानीकी छोरी पूर्णिकालाई नेपाली नागरिकता

काठमाडौ। पूर्वराजा ज्ञानेन्द्र शाहकी नातिनी तथा पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाहकी छोरी पूर्णिका शाहले सोमवार काठमाडौ जिल्ला प्रशासन कार्यालयवाट नेपाली नागरिकता प्रमाण–पत्र लिएकी छन्।

Himani with Purnika

नेपाली नागरिकता प्राप्त गर्नको लागि आवश्यक कागजात लिएर सहयोगीहरुका साथ पूर्णिका बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय पुगेकी थिइन्। सवै प्रक्रिया पुगेपछि प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले सनाखतको लागि बाउ या आमा आउनु पर्ने भनेपछि पूर्णिकाले तुरुन्तै आमा हिमानीलाई वोलाएकी थिइन्।

पूर्णिकाको बोलावट आएको लगतै हिमानी जिल्ला प्रशासन कार्यालय बबरमहल पुगेर सनाखत गरिदिएकी थिइन्। संपूर्ण प्रक्रिया पूरा भएपछि आम नागरिकहरुलाई जस्तै पूर्वराज परिवार सदस्य पूर्णिका शाहलाई नेपाली नागरिकता दिइएको प्रमुख जिल्ला अधिकारी दवाडीले बताएका छन्।

दवाडीका अनुसार पूर्वराजपरिवारका सदस्य जिल्ला प्रशासन कार्यालयमा नै उपस्थित भएर नागरिकता लिएको यो पहिलो घटना नै हो। यसअघि राजपरिवारका कुनैपनि सदस्यहरुले यसरी नागरिकता लिएका छैनन्। राजतन्त्र हुंदा दरबारले नागरिकताका लागि चाहिने फाराम भरेर सहयोगीमार्फत जिल्ला प्रशासन कार्यालयमा पठाइदिने गरिन्थ्यो। जारी भएको नागरिकताको प्रमाणपत्र पनि सहयोगीले नै दरबार लगिदिने चलन थियो।

सोमवार पूर्णिका शाहले लिएको नागरिकतामा आमा हिमानी शाह र पिता पारश शाह दुवैको नाम छ।
प्रकाशन मिति–२०७३ साल माघ १७ गते सोमवार ।