पोखराको रमणीय स्थल पुम्दीकोट बन्दै छ पर्यटकीय गन्तव्य

 

पोखरा । ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय सम्भावना बोकेको पोखराको रमणीयस्थल पुम्दीकोटलाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने भएको छ ।

प्राचीनकालदेखि अटुट रुपमा सहकालका देवता भूमेश्वर महादेवको पूजा आराधना गरिँदै आएको उक्त स्थलमा महादेवको विशाल मूर्तिलगायत विभिन्न भौतिक संरचना तयार गरी आकर्षक गन्तव्यका रुपमा विकास गर्न पहल गरिएको छ ।

महादेवको मूर्तिसहित १०८ शिवलिङ्ग निर्माण गरी गणेशद्वारा परिक्रमा गराई उक्त क्षेत्रलाई जो कोहीलाई एकपटक पुग्नै पर्ने स्थलका रुपमा विकास गर्ने लक्ष्य राखिएको पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण एवम् पर्यटन प्रवद्र्धन उपभोक्ता समितिका संयोजक चन्द्रकान्त बराल बताउनुहुन्छ ।

बरालका अनुसार तत्कालीन कास्कीकोटका राजाको भोगाधिकारमा रहँदै आएको सामरिक महत्व बोकेको पुम्दीकोटमा दुई वर्षको अवधिमा शिव माहत्म्य प्रदर्शनसहित धार्मिक पुस्तकालय, ध्यान केन्द्र, स्मृतिपार्क, सहिद स्मारकलगायत विभिन्न आकर्षक भौतिक संरचना तयार गरिने योजना छ ।

भौतिक संरचना निर्माणसँगै आन्तरिक एवम् बाह्य पर्यटन प्रवद्र्धन गरी युवा शक्तिलाई पर्यटन व्यवसायमा आकर्षित गर्ने मुख्य उद्देश्य रहेको उहाँको भनाइ छ । “स्थानीयस्तरमा रोजगार सिर्जना गरी युवालाई विदेश पलायन हुनबाट रोक्न अभियान चलाएका हौँ,” उहाँले भन्नुभयो ।

पाँच वर्षअघि तयार गरिएको गुरुयोजनाअनुसार सम्पूर्ण निर्माण कार्यमा रु २० करोड ५१ खर्च हुने अनुमान गरिएको छ । तर अहिलेको अवस्थामा उक्त निर्माण कार्य सम्पन्न गर्न करिब रु ४० करोड लाग्ने अनुमान गरिएको छ ।

पुम्दीकोट पुग्न पोखराको छोरेपाटनबाट सवारी साधनमार्फत पुग्न सकिन्छ । छोरेपाटन, कालीमाटी, शान्ति स्तूपा, लुकुङ्श्वारा, डाँडाथोक हुँदै पुम्दीकोट पुगिन्छ । त्यस्तै छोरेपाटन, कालीमाटी, पोखरा भ्यू प्वाइन्ट, फलेटे, तिलाहार, काउलेपानी, लकुङ्स्वाँरा, डाँडाथोक हुँदै समेत पुम्दीकोट पुग्न सकिन्छ । विश्वशान्ति स्तूप, नेटा हुँदै तथा पोखरा भ्यूप्वाइन्टबाट पुम्दीकोट पैदल यात्राबाट पुग्न सकिन्छ ।

प्राचीन पदमार्गका रुपमा रहेको पोखरा रानीवन, पुम्दीकोट, भूम्दीकोट, थाप्लेडाँडा हुँदै सुनगाभाको राजधानी पञ्चासेसम्म पुग्ने बाटो यतैबाट जाने भएकाले सो स्थान यहाँको अर्को पर्यटकीय आकर्षण पनि हो । गुरुयोजनाअनुसार सो क्षेत्रमा शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट प्राप्त रु ६० लाखको आर्थिक सहयोगमा लगभग ३० फिट उचाइको भ्यू टावर निर्माण सम्पन्न गरिसकिएको छ ।

हिमाली तथा उच्च पहाडी दृश्यका साथै पोखराको अवलोकन गर्न सकिने उक्त टावर २०७० सालदेखि सञ्चालनमा आएको समितिका उपाध्यक्ष मित्रलाल बराल बताउनुहुन्छ । टावर बनेसँगै पर्यटकीयस्थलमा दैनिक ५० देखि एकसयको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।

उक्त क्षेत्रको विकासका लागि पर्यटन मन्त्रालयको रु २० लाखको सहयोगमा जमिन सम्याउने र संस्थाको दिगो आम्दानीको स्रोतका रुपमा ३२ वटा सटर निर्माण भइरहेको बरालले बताउनुभयो । यहाँको विकासका लागि आव २०७३÷७४ मा सांसद विकास कोषबाट रु १० लाख प्राप्त भएको छ ।

यस्तै पूर्वाधार निर्माणका लागि जिविस कास्कीबाट रु चार लाख, खानेपानी तथा सुपरिवेक्षण क्षेत्रीय कार्यालयबाट रु आठ लाख प्राप्त भएको छ । पर्यटकीय गन्तव्यको सम्भाव्यता अध्ययन गरी आवश्यक पूर्वाधार विकाससँगै सहरमा केन्द्रित पर्यटनलाई ग्रामीण क्षेत्रमा विस्तार गर्न सकिए पर्यटकको बसाइँ लम्ब्याउन सकिने नेपाल पर्यटन बोर्ड, पोखरा कार्यालयका वरिष्ठ अधिकृत सूर्य थपलिया बताउनुहुन्छ ।

समुद्री सतहबाट करिब एक हजार दुई सय मिटरको उचाइमा रहेको पुम्दीकोटबाट धौलागिरिदेखि माछापुच्छ, अन्नपूर्णसहित मनास्लु हिमशृङ्खला, पोखरा बजार, फेवाताल, सराङकोट, शान्ति स्तूपालगायतका पर्यटकीयस्थलको एकसाथ अवलोकन गर्न सकिन्छ ।

विशाल महादेवको मूर्ति स्थापनाका लागि समितिले यही फागुन ३ गतेदेखि १३ गतेसम्म शिवपुराण महायज्ञ सञ्चालन गर्ने भएको छ । महायज्ञबाट रु छ करोडभन्दा बढी सङ्कलन गर्ने लक्ष्य लिएको अध्यक्ष बरालले बताउनुभयो । मूर्ति निर्माण अभियानलाई साकार पार्न समितिले देशव्यापी कार्यक्रम थाल्ने जनाएको छ ।