अस्पतालमा औषधि अभाव हुन नदिने स्वास्थ्यमन्त्री थापाको भनाइ

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री गगन थापाले सबै जिल्ला अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा पर्याप्त औषधिको व्यवस्था गर्न सम्बन्धित निकायका अधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।
संचार माध्यमहरुमा औषधि अभाव भन्ने समाचार आएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै मन्त्री थापाले सार्वजनिक अपिल गर्नुभएको हो । उहाँले औषधि अभाव भएको भए २४ घण्टा भित्र के कारण औषधि अभाव भएको हो भन्ने विषयमा जानकारी दिन मातहतका निकायलाई निर्देशन दिनुभयो ।
आफ्नो सार्वजनिक अपिलमा स्वास्थ्यमन्त्री थापाले, औषधिको छुट्याइएको १ अर्व ५० करोड रकममध्ये ५१ करोड १० लाख रुपियाँ जिल्लामा गइसकेको उल्लेख गर्नुभएको छ । मन्त्री थापाका अनुसार जिल्ला र क्षेत्रको लागि ३९ करोड १५ लाख रुपियाँ भाद्रमा नै पठाइसकेकोमा पौष मसान्तमा थप ११ करोड ९५ लाख रकम पठाइएको छ ।

मन्त्री थापाले रकमको अभाव देखाउँदै आफ्नो जिम्मेवारीबाट नपन्छिन भन्दै अभाव भए निकासा लिन र लिएका रकमबाट औषधी खरिद गरी कुनै पनि बेला औषधी अभाव हुन नदिन सबैलाई अपिल गर्नुभएको छ ।