‘आपसी झगडाले संविधान कार्यान्वयन खतरामा’

maitrinews

 

पोखरा, २४ माघ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले राजनीतिक दलबीचको आपसी झगडाले संविधान कार्यान्वयन खतरामा पर्दै गएको बताउनुभएको छ ।

चन्द्रसिंह कुलुङद्वारा लिखित ‘पहिचान र आदिवासी जनजातिको सर्वाङ्गीण विकास’ नामक पुस्तकको आज यहाँ विमोचन गर्दै उहाँले मधेसी, जनजाति र उत्पीडित समुदायका माग सम्बोधन हुने गरी संविधान संशोधनमा गम्भीर बन्न सवै दलसँग आग्रह गर्नुभयो ।

संयोजक डा भट्टराईले स्थानीय तह, प्रादेशिक तथा केन्द्रीय निर्वाचन सम्पन्न भएपछि मात्रै संविधान कार्यान्वयन हुने र त्यसपछि मात्रै मुलुक शान्ति र समृद्धिको बाटामा अघि बढ्ने भएकाले तत्काल निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा राप्रपाका नेता लोकेन्द्रबहादुर चन्दले पछाडि परेका जनजाति वर्गलाई अगाडि ल्याउने राज्यको परम दायित्व भएको बताउँदै आफ्नो अधिकार प्राप्तिका लागि सवै जनजाति, वर्ग र समुदायलाई मिलेर अघि बढ्न आग्रह गर्नुभयो ।