स्थानीयस्तरको निर्वाचन हुन नसक्ने : अध्यक्ष यादव

 

कञ्चनपुर (सप्तरी), २९ माघ । सङ्घीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले स्थानीय निर्वाचन कुनै पनि हालतमा हुन नसक्ने बताउनुभएको छ ।

स्थानीय निर्वाचनमा केन्द्रीय सरकारको कुनै अधिकार नै हँुदैन यो प्रादेशिक मामलाको विषय हो, प्रदेशको टुङ्गो नलागेसम्म स्थानीयस्तरको निर्वाचन गर्न नमिल्ने धारणा उहाँले व्यक्त गर्नुभयो । आज यहाँ सङ्घीय समाजवादी फोरम नेपाल सप्तरीको प्रथम जिल्ला अघिवेशनमा उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, मुलुक सङ्घीयतामा गइसकेपछि सङ्घीय प्रणालीअनुसार काम हुनुपर्छ, यसो नभएकै कारण मुलुकमा अहिले पनि राजनीतिक द्वन्द्व चलिरहेको छ । यी राजनीतिक द्वन्द्वलाई समाधान नगरी मुलुक शान्ति र स्थिरतामा जान नसक्ने यादवले ठोकुवा गर्नुभयो ।

केन्द्रीय सरकारले प्रादेशिक मामिलाको सवालहरु, समानुपातिक सवालहरु हलै नगरी स्थानीय तहको निर्वाचनलाई तेर्साएर द्वन्द्व निम्त्याएको आरोपसमेत उहाँले लगाउनुभयो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई धरापमा पार्ने काम सरकारले गरेको यादवले आरोप लगाउनुभयो ।

उहाँले गाउँपालिका र नगरपालिका जनसङ्ख्याका आधारमा नभएको पनि बताउनुभयो । यसरी आयोगले अमान्य तरिकाबाट निर्धारण गरेकोले यसलाई संशोधन गरिनुपर्छ भन्दै उहाँले नत्र आफूलाई यो मान्य नहुने बताउनुभयो ।