चार दिन देखि ठप्प स्थानीय निकाय शुक्रबारवाट काम नियमित बन्ने

काठमाडौ। विगत चार दिनदेखि ठप्प हुंदैआएको स्थानीय निकाय आज शुक्रबारदेखि नियमित रुपमा सञ्चालनमा आउने भएको छ ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अधिकारी र स्थानीय निकायका कर्मचारी सङ्घ, सङ्गठनका प्रतिनिधिबीच कार्यदल गठन गरी माग सम्बोधन गर्न छलफल गर्नेलगायत सातबुँदे सहमति भएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता भएको हो ।
मन्त्रालय र आन्दोलनरत पक्षका प्रतिनिधिबीच १२ सदस्यीय कार्यदल गठन गरी आन्दोलनरत पक्षका माग सम्बोधन गर्न दुवै पक्ष सहमत भएको मत्रालयका सल्लाहकार माधव सापकोटाले बताएका छन्।
चार दिनदेखि स्थानीय निकायका कर्मचारीलाई निजामती र अन्य निकायमा काम गर्ने कर्मचारीसरह समान पदका लागि समान अवसर प्रदान गर्नुपर्ने र लामो समयदेखि कार्यरत अस्थायी, करार र ज्यालादारी कामदारलाई सेवामा निरन्तरताको अवसर दिनुपर्नेलगायत माग राख्दै स्थानीय निकायका कर्मचारी आन्दोलित हुँदै आएका थिए।
प्रकाशन मिति–२०७३ साल फागुन ६ गते शुक्रबार ।