साहुलाई होटलमा लगेर फिरौती लिने युवती फरार

काठमाडौ। आफू कार्यरत पसलकै साहुलाई अपहरण गरी फिरौती लिएर एक युवती फरार भएकी छन् । कामदार युवतीले पसल साहुलाई काठमाडौंको सुन्धारामा बोलाएर नियन्त्रणमा लिई एक होटलमा पुर्याएर फिरौतीसमेत असुल गरेर फरार भएको प्रहरीले जनाएको छ ।
सुन्धाराको सनराइज गेस्ट हाउसमा बन्धक अवस्थामा फेला परेका व्यापारी श्यामसुन्दर अग्रवालबाट ८ लाख फिरौती लिएर ती युवती सहयोगीसहित बेपत्ता भएपछि घटनाबाहिर आएको हो । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार अग्रवाललाई गेस्ट हाउसका कर्मचारीले उद्धार गरी प्रहरीलाई खबर गरेपछि कामदारबाटै अपहरणमा परी फिरौतीसमेत बुझाउनुपरेको रहस्य खुलेको हो ।
अपहरण गरी फिरौती असुल्ने ती युवती सहयोगीसहित फरार भएकी हुन् । सात महिनाअघि जागिर खोज्दै आएकी ती युवतीले ‘जरुरी काम पर्यो’ भन्दै सुन्धारा बोलाएपछि अग्रवाल न्युरोडबाट सनराइज गेस्ट हाउसमा पुगेका थिए ।
‘महिलासहित उनीहरूले त्यही होटलमै ६ घण्टा बन्धक बनाएर अग्रवालको साथमा रहेको ७२ हजार नगद र चेकमार्फत ८ लाख फिरौती लिएर होटलमै छाडेर भागेका रहेछन्,’ महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी उपरीक्षक (एसपी) प्रकाशजंग कार्कीले भनेका छन्।
एसपी कार्कीका अनुसार फिरौती लिनेमध्ये दुईजना पक्राउ परे पनि युवतीसहित अन्य दुईजना अझै फरार छन् ।
प्रकाशन मिति–२०७३ साल फागुन ८ गते आइतवार