प्रहरी महानिरीक्षकसम्बन्धी रिटको सुनुवाइ ‘हेर्दाहेर्दै’मा

 

काठमाडौँ, १२ फागुन । नेपाल प्रहरीका महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा सकिएको छ ।

सो निवेदनमाथिको सुनुवाइका क्रममा बुधबारदेखि बहस सुरु भए पनि धेरै अधिवक्ताले बहसमा भाग लिएका कारण लम्बिएको हो । सुनुवाइका लागि यही फाुगन १७ गतेलाई पुनःतोकिएको छ । अधिवक्ता कपिलदेव ढकालले वरियता मिचेर प्रहरी महानिरीक्षक बनाउन लागिएको जिकिर गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्य चार जनाविरुद्ध गत माघ २८ गते र यही फागुन १ गते महानिरीक्षकको प्रतिस्पर्धामा रहनुभएका प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएपछि अदालतले चन्दको पदबहाली रोक्ने अन्तरिमकालीन आदेश जारी गरेको थियो ।

यही फागुन १ गतेको मन्त्रिपरिषद्को बैठकले चन्दलाई महानिरीक्षकमा नियुक्त गरेको थियो । न्यायाधीश हरिकृष्ण कार्की र तेजबहादुर केसीको संयुक्त इजलासमा बुधबार र बिहीबार सोसम्बन्धी बहसमा सिलवाल पक्षका पक्षका १८ अधिवक्ताले भाग लिनुभएको थियो । सिलवाल पक्षका अधिवक्ताको बोल्ने क्रम सकिएपछि आज चन्दका पक्षबाट महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले बहस गर्नुभएको थियो । चन्दको पक्षमा पनि १८ अधिवक्ताले नाम लेखाउनुभएको छ । यही फाुगन १७ को इजलासमा उहाँहरुले बहस गर्नुहुनेछ ।

मन्त्रिपरिषद्को बैठकले चन्दलाई महानिरीक्षमा नियुक्त गर्ने निर्णय गरेकै दिन दिउँसो प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले प्रहरी महानिरीक्षकमा चन्दलाई नियुक्ति दिने÷दिलाउने, पदबहाली गर्ने÷गराउनेलगायत कुनै पनि कार्य नगर्नू÷नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।