फागुन १८ मा नै स्ववियु निर्वाचन हुनुपर्छ – विद्यार्थी सङ्गठन

 

काठमाडौँ, १५ फागुन । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनलाई लिएर क्याम्पसमा तालाबन्दी हुँदै गर्दा विभिन्न ठूला विद्यार्थी सङ्गठनले यही फागुन १८ गते नै निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा मुख्य ठूला विद्यार्थी सङ्गठनका विद्यार्थी नेताले क्याम्पसमा लगाइएको तालाबन्दी र नक्कली विद्यार्थी भर्नाबारे आरोप÷प्रत्यारोप गर्दै फागुन १८ मा नै निर्वाचन सम्पन्न गर्नुको विकल्प नहुने धारणा राख्नुभएको छ ।

नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घका महामन्त्री सरोज थापाले देशभरिका एक÷दुई क्याम्पसमा निर्वाचनबारे विवाद रहेपनि समग्रमा अहिलेसम्म शान्तिपूर्ण वातावरण नै रहेको दाबी गर्नुभयो ।

नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुकी अध्यक्ष नविना लामाले आफ्नो सङ्गठनले निर्वाचन हार्ने डरले नेवि सङ्घले निर्वाचन बिथोल्ने काम गरिरहेको आरोप लगाउनुभयो ।

नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले आफैँ नियम बनाउने र आफैँले तोड्ने नेवि सङ्घ र अनेरास्ववियु लगायतका विद्यार्थी सङ्गठनले दोहोरो चरित्र प्रस्तुत गरेका छन्, भन्नुभयो ।