बैंकले कडाइ गरेपछि सहकारीमा ऋण माग्नेको भीड

maitrinews

Bank Co-operative

काठमाडौं। बैंक तथा वित्तीय संस्थाले नयाँ ऋण प्रवाहमा कडाइ गरेसँगै कर्जाका लागि सहकारी संस्थामा चाप बढेको छ । बैंकबाट ऋण नपाएपछि सर्वसाधारण फाइल बोकर सहकारी धाउन थालेका हुन् ।

राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केबी उप्रेतीले बैंकहरूले कडाइ गरेपछि सहकारीमा ऋण माग्नेको संख्या बढेको बताए । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव भए पनि अहिलेसम्म सहकारीमा समस्या देखिएको छैन । तर, बैंकहरूले ब्याजदर वृद्धि गरी सहकारीको सरह पु¥याउन थालेपछि भने तरलताको अभाव हुनसक्ने भन्दै आफूहरू सचेत भएको उप्रेतीले बताए ।

सहकारीले सदस्यबीच सिमित कार्यक्षेत्रभित्र मात्र कारोबार गर्न पाउँछन् । तर, कमजोर अनुगमन र कारवाहीको व्यवस्थाका कारण सहरी क्षेत्रका सहकारीले भने बैंकसँग प्रतिस्पर्धा गर्दै बैंकसरह कारोबार गर्दै आएका छन् । सहकारीमा बैंक तथा वित्तीय संस्थाको भन्दा ब्याजदर महँगो हुने भएकाले बैंकले नपत्याएका ऋणीले सहकारीबाट कर्जा उपभोग गर्दै आएका छन् । विषेश गरी बिनाधितो र बैंकले स्वीकार नगर्ने धितोमा सहकारीले कर्जा दिने गरेका छन् ।

कतिपय सहकारीले जथाभावी कर्जा प्रवाह गरेकाले सहकारीको लगानी नै जोखिममा रहेको पनि विभिन्न अध्ययनहरूमा देखिएको छ । तर, यसलाई सुरक्षित गर्नका लागि कुनै पहल हुन भने सकेको छैन ।

बैंक तथा वित्तीय संस्थामा देखिएको तरलताको संकट सहकारीमा पनि पर्ने आँकलनमा सहकारीहरूले आन्तरिक तयारीसमेत सुरु गरिसकेका छन् । ललितपुरमा सहकारी संघ–संस्थाहरूको संलग्नतामा तरलता व्यवस्थापन समिति नै गठन गरिएको छ ।

कुनै सहकारीमा तरलताको अभाव भयो भने आपसमा मिलेर समस्या समाधान गर्नका लागि समिति गठन गरिएको उनीहरूको भनाइ छ । नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कुन) का सञ्चालक कृष्ण पौडेल सहकारी क्षेत्रमा पनि तरलताको अभाव हुँदै गए पनि बैंकहरूमा जस्तै कर्जा लगानी बन्द गर्नुपर्ने अवस्था भने आइनसकेको बताउँछन् ।

सहकारी संस्थाहरूले सदस्यको घरदैलोमा पुगेर दैनिक बचत संकलन गर्ने भएकाले बैंकको तुलनामा सहकारी संस्थाको बचतको आधार भरपर्दो भएकाले सहकारीलाई सजिलो हुने उनको भनाइ छ । सहकारी विभागको तथ्यांकअनुसार हाल देशभरका सहकारीमा करिब २ खर्ब रुपैयाँभन्दा बढी बचत छ । त्यसमध्ये आधा निक्षेप काठमाडौं उपत्यकामा नै छ ।
प्रकाशन मिति–२०७३ साल फागुन १८ गते बुधवार ।