विदेशी लगानीकर्ताहरुले देखाएको इच्छालाई कार्यान्वयनमा ल्याउन चार उपसमिति गठन

काठमाडौं, २३ फागुन । उद्योग मन्त्रालयले नेपाल लगानी सम्मेलनमा अन्तराष्ट्रिय लगानीकर्ताहरुले नेपालमा लगानी गर्न देखाएको उत्साहप्रद इच्छालाई परिणाममा बदल्न विभिन्न चार उपसमिति गठन गरेको छ । लगानी सम्मेलनका बखतमा लगानी कर्ताहरुले उठाएका बिषयहरुलाई संवोधन गरी लगानी मैत्री वातावरण निर्माण गर्नसमितिहरु निर्माण गरिएको हो ।
उद्योग मन्त्रालयमा शोमवार आयोजित पत्रकार सम्मेलनमा उद्योग मन्त्री नवीन्द्रराज जोशीले नेपाल लगानी सम्मेलनमा लगानीका लागि विदेशी लगानीकर्ताहरुले देखाएको इच्छालाई कार्यान्वयन गरी परिणाममा पु¥याउन आफ्नै अध्यक्षतामा विभिन्न सरोकारवाला मन्त्रालयका मन्त्रीहरु समेत सम्मिलित विदेशी लगानी सम्वन्धि उच्चस्तरीय समिति गठन गरिएको जानकारी दिए ।
उद्योग मन्त्रीको अध्यक्षतामा गठित २१ जनाको सो उच्चस्तरिय समितिमा भौतिक योजना, वाणिज्य, पर्यटन र उर्जा मन्त्री समेत सदस्य रहेका छन् । यसैगरी राष्ट्रिय योजना आयोगको उद्योग हेर्ने सदस्यको संयोजकत्वमा विदेशी लगानी सम्वन्धी नीति उप समिति गठन गरिएको छ ।
११ जना सदस्य रहने सो समितिमा निजी क्षेत्रको समेत सहभागिता रहने व्यवस्था मिलाईएको छ । उद्योग मन्त्रालयका सचिव शंकर प्रसाद कोईरालाको संयोजकत्वमा विदेशी लगानी प्रवद्र्धन उप समिति गठन गरिएको छ । ११ जना सदस्य रहेको सो समितिमा विभिन्न सरोकारवाला मन्त्रालयका सह—सचिवहरु सदस्य रहेने व्यवस्था गरिएको छ । यसैगरी लगानी वोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीको संयोजकत्वमा विदेशी लगानी सम्वन्धी परियोजना उप समिति गठन गरिएको छ । सो समितिमा पनि ११ जना सदस्यहरु रहने व्यवस्था गरिएको छ ।
पत्रकार सम्मेलनमा उद्योग मन्त्री नवीन्द्रराज जोशीले लगानी प्रवद्र्धनका लागि सजिलो बनाउन औद्योगिक व्यवसाय ऐनमा व्यवस्था भएको एकद्धार नितीको कार्यान्वयनलाई यथाशिघ्र कार्यान्वयनमा लैजाने गरी प्रकृया शुरु गरिएको बताए । लगानी सम्मेलनमा नेपालमा लगानी गर्न ईच्छा व्यक्त गर्ने लगानीकर्ताहरुलाई धन्यवाद दिंदै उद्योग मन्त्री जोशीले उनीहरुसँग निरन्तर समन्वय गरी जति सक्दो चाँडो लगानी भित्र्याउन गठित समिति तथा उप समितिले आजैबाट कार्य शुरु गरिसकेको बताए ।
लगानी सम्मेलनका क्रममा सहभागि क्यानाडाको सरकारी स्वामित्वको जलविद्युत कम्पनी क्यूमेकले नेपालको जलविद्युत विकासमा लगानी गर्ने चासो देखाएको समेत उद्योग मन्त्री जोशीले बताए ।