अमेरिकी राष्ट्रपति ट्रम्पव्दारा यात्रा प्रतिबन्धको नयाँ आदेश जारी

 

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यात्रा प्रतिबन्धको नयाँ आदेश जारी गर्नुभएको छ । यो कार्यकारी आदेशमा इराक माथिको प्रतिबन्ध भने हटाइएको छ।
इराकका नागरिकलाई अमेरिका प्रवेश अनुमति पत्र दिँदा थप उपायहरु अपनाइने सहमति भएपछि उसमाथिको प्रतिबन्ध हटाइएको हो।
ट्रम्प प्रशासनका उच्च अधिकारीहरुले, अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि मुसलमान बहुल ६ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने नयाँ कार्यकारी आदेश एकदमै महत्वपूर्ण उपाय भएको भन्दै त्यसको बचाउ गरेका छन्।
सबै शरणार्थीहरुलाई १ सय २० दिन प्रतिबन्ध लगाइने समेत उल्लेख भएको उक्त कार्यकारी आदेश मार्चको १६ तारिखबाट लागू हुनेछ।
संघीय अदालतले पछि रोक लगाइदिएको यसअघिको आदेशले विमानस्थलमा दुविधाको वातावरण श्रृजना गरेको थियो र त्यसविरुद्ध प्रदर्शनहरु भएका थिए।
आतंकवादको धम्कीविरुद्ध राष्ट्रिय सुरक्षा बलियो बनाउने भन्दै ल्याइएको उक्त आदेशलाई विभिन्न अदालतहरुले त्यतिखेर रोक लगाइदिएका थिए र त्यो रोक अहिले जारी नै छ।
नयाँ कार्यकारी आदेशको खुलासा विदेशमन्त्री रेक्स टिलर्सन, महान्यायाधिवक्ता जेफ सेसन्स र होमल्याण्ड सेक्युरिटीका प्रमुख जन केलीले गरेका थिए।
विदेशमन्त्री टिलर्सनले आतंककारीहरुलाई देशबाहिरै राख्नका लागि नयाँ आदेश गरिएको बताएका छन्।

फागुन २४ गते ।