देउवा र प्रचण्डलाई ईश्वर पोख्रेलको प्रश्न– ‘तपाईहरु कसको भरिया बन्नुभएको छ ?’

काठमाडौँ । मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा कैलालीको लम्की सभालाई सम्वोधन गर्दै महासचिव ईश्वर पोख्रेलले मुलुकको सार्वभौमिकताका विस्द्धमा क्रियाशील तत्वहरुलाई खबरदारी गर्नका लागि एमालेको अभियान जारी रहेको बताउनु भएको छ । उहाँले जनताले देखाएको समर्थनबाट ती तत्वहरुलाई गतिलो जवाफ भएको दाबी गर्नुभयो ‘एमाले अरु कुरा सहन सक्छ तर कसैले सामाजिक सद्भाव विथोल्न खोज्छ, राष्ट्रको हितमा कुठाराघात गर्न चाहन्छ, ६० वर्षदेखिको जनताको चाहना अनुरुप बनेको संविधानमाथि कसैले कुठाराघात गर्न चाहन्छ भने ्एमाले किमार्थ स्वीकार गर्न तयार छैन, चट्टान जस्तो भएर उभिनेछ,’ उहाँले भन्नुभयो, ‘संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य छ । यो कुनै एक दलको चाहनासँग जोडिएको छैन, मुलुकसँग जोडएको छ, संविधान र लोकतन्त्रसँग जोडिएको छ ।’
उहाँले संविधान संशोधन नेपाली जनताको एजेन्डा नभएको पनि प्रष्ट पार्नुभयो । ‘म पुष्पकमल दाहाल र शेरबहादुर देउवाजीलाई सोध्न चाहन्छु, तपाईंहरु कसका एजेन्डाको भरिया बन्नुभएको छ ?,’ उहाँले भन्नुभयो, ‘नेपाली भाषालाई सखाप पार्ने, अंगीकृत नागरिकलाई मुलुकको बागडोर सुम्पिने, पहाड र मधेस टुक्र्याउने तपाईंहरुको योजना हामी कदापि पूरा हुन दिन्नौँ ।’
कार्यक्रमलाई सम्वोधन गर्दै उपाध्यक्ष भीम रावलले सेना, प्रहरी र गुप्तचरमा समेत समानुपातिक सहभागिता नेपालबाहेक अरु कुन देशमा नभएको बताउनुभयो ।  ‘विदेशी महिलालाई एउटा हातमा सिन्दुर र अर्को हातमा नागरिकता नेपालमा छ,’ उहाँले भन्नुभयो, ‘अझ पनि पुगेन भन्नेले दुनियाँ बुझेकै छैनन् ।’