मधेस टुक्रयाउने सपना कुनै हालतमा पूरा हुन दिदैँनौँ : ओली
धनगढी । नेकपा (एमाले) ले सञ्चालन गरेको मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत आजको पहिलो सभा कैलालीको सदरमुकाम धनगढीमा सम्पन्न भएको छ । विशाल जनसमुदायका बीचमा आयोजित उक्त सभामा थारु समुदायका विभिन्न झाँकीहरु प्रस्तुत गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभयोः
भौगोलिक अखण्डता, स्वतन्त्रता र स्वाभिमानका बारेमा एमाले कसैसँग सम्झौता गर्दैन ।
भाषा, भूगोल वा जातिका नाममा हुने कुनै पनि प्रकारका विखण्डनलाई हामी स्वीकार गर्दैनौँ । अबको कार्यभार समृद्धि हो । अबको ध्यान त्यसैमा केन्द्रित हुनुपर्छ ।
देशलाई अगाडि बढ्न नदिने तत्वहरुले जनतालाई हाम्रा कार्यक्रममा आउन छेकबार लगाउने कोसिस गरेका छन् । तर, तिनीहरुका प्रयासलाई विफल पारेर जनताले एमालेप्रतिको आफ्नो समर्थन प्रकट गरेका छन् ।
निर्वाचन र संविधान संशोधनको कुनै सम्बन्ध छैन । संशोधन पहाड र तराईलाई छुट्याउने षड्यन्त्रको सिलसिला हो । मिलेर बसेका समुदालाई विभाजित गर्ने षड्यन्त्रलाई सफल हुन दिन्नौँ ।
उपाध्यक्ष वामदेव गौतमले भन्नुभयोः
नेपाललाई घुँडा टेकाउनका लागि थोपरिएको नाकाबन्दीको सामना गरेर नेपाली जनताले राष्ट्रभक्ति देखाइसकेका छन् । त्यस्तो बेलामा नाकाबन्दी गराउन भूमिका निर्वाह गरेका मधेसी दलका नेता कार्यकर्तालाई स्थानीय बासिन्दाले दशगजाबाट लखेटेको हामीले बिर्सेका छैनौ्ँ । त्यसबाट मुलुकलाई मुक्त गरेर दुबै मुलुकसँग समदुरी कायम गर्ने, फेरि कहिल्यै नाकाबन्दी गर्न नपाउने गरी चीनसँग सम्झौता गरेर एमाले नेतृत्वको सरकारले शीर ठाडो बनाएपछि हाम्रो सरकार हटाइयो ।
डाँकाहरुका बीचमा पनि एउटा नैतिक बन्धन हुन्छ । प्रचण्ड आफैँ उच्चस्ूतरीय संयन्त्रको संयोजक थिए, आफैँ अविश्वास प्रस्ताव ल्याए । त्यसको हिसावकिताव जनताले राखेका छन् ।

कार्यक्रम विथोल्नका लागि रक्सी र अरु लठ्ठ पार्ने पदार्थ खुवाएर ससाना मानिसहरुलाई हाम्रो सभामा पठाइयो । आफैँ मानिस मराउँछन्, अनि दोष हामीलाई दिन खोज्छन् । तर, त्यसबाट हाम्रो होइन, उनीहरुकै बदनाम भइरहेको छ ।
हिन्दी भाषालाई सरकारी काममाजको भाषा बनाउने प्रस्तावलाई कुन चाहिँ नेपालीले स्वीकार गर्न सक्छ ? सरकारले यस्तो प्रस्ताव ल्याएको छ । यसबाट यो सरकार कसको सरकार हो भन्ने प्रस्ट भएन र ?
पहिलो चरणमा पहाड र तराई छुट्याउने, त्यसपछि सिंगो मधेसको ्रएउटै प्रदेश बनाउने, अनि विशेष स्वायत्तता दिने र अन्तिममा अलग्गै राष्ट्र बनाएर अन्त्यमा मिसाउने योजना छ । हामी यो सपना कदापि पूरा हुन दिँदैनौँ ।
केन्द्रीय कमिटीका सचिव भीम आचार्यले एमालेको अभिायनले संविधान कार्यान्वयनमा जनदवाव सिर्जना गरेको उल्लेख गर्दै अभियानमा लाखौँ जनताको सहभागिताले जनता कसका पक्षमा छन् भन्ने प्रष्ट भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसबाट एमालेले लिएका नीतिहरु सही र समयसापेक्ष छन् भन्ने देखिएको छ । हामी थप उत्साहित भएका छौँ ।’
कार्यक्रममा केन्द्रीय कमिटीका सदस्य तथा सांसद गरिमा शाह, बैकल्पिक सदस्य तथा सांसद प्रेमबहादुर आले र नारदमुनि रानाले पनि बोल्नुभएको थियो ।
पार्टीका उपाध्यक्ष तथा प्रदेश नम्बर ७ का संयोजक भीम रावलको अध्यक्षता र केन्द्रीय कमिटीका सदस्य महेश्वर पाठकको सञ्चालनमा आयोजित सभामा सहभागीहरुलाई प्रदेश नम्बर ७ का सहसंयोजक कर्णबहादुर थापाले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा पूर्वप्रमुख जिल्ला अधिकारी डिल्लीराज जोशी, माओवादी केन्द्रका केन्द्रीय सदस्य डम्बरबहादुर सिंहलगायत पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गरिएको थियो ।
मेची–महाकाली राष्ट्रिय अभिायनको अन्तिम सभा आजै कञ्चनपुरको महेन्द्रनगरमा हुँदैछ । अभियानको केन्द्रीय टोली त्यसमा सहभागी हुन महेन्द्रनगरतर्फ प्रस्थान गरेको छ ।
चैत ३ गते ।