संसदमा प्रतिनिधित्व गर्ने २६ वटा दलले पुरानै चुनावचिन्ह पाउने

काठमाडौँ । स्थानीय तहको निर्वाचनमा व्यवस्थापिका संसदमा भएका २६ राजनीतिक दलले पुरानै चुनाव चिह्न पाउने भएका छन् । साथै २६ दलले संविधानसभा २०७० को चुनावमा समानुपातिक तर्फ पाएको मतका आधारमा मतपत्रमा चुनाव चिह्नको क्रम निर्धारण गरिएको छ ।
संसदका ३० दल मध्ये राप्रपा र राप्रपा नेपाल मिलेर राप्रपा बनेको छ भने मधेसी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टी मिलेर संघीय समाजवादी फोरम नेपाल बनेको छ ।
संसदमा एक सिट भएको विज्ञान तथा प्रविधि मन्त्री प्रेमबहादुर सिंहको समाजवादी जनता पार्टीलाई आयोगले खारेज गरिसकेको छ । नेपाः राष्ट्रिय पार्टी भने आयोगमा दर्ता नै नभएको आयोगले जनाएको छ ।
बैशाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगले आइतबार साँझबाट मतपत्र छपाई सुरु गर्दैछ । आयोगले डेढ करोढ बढी मतपत्र छाप्ने छ र यो काम पूरा गर्न करिब ४२ दिन लाग्ने अनुमान छ ।
आयोगको निर्णयमा लेखिएको छ, ‘मतपत्रमा निर्वाचन चिह्नको क्रम निर्धारण गर्दा व्यवस्थापिका(संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेका मतसंख्याको आधारमा मतपत्रमा निर्वाचन चिह्न को क्रम निर्धारण गर्ने ।’
यस अनुसार मतपत्रमा पहिलो नम्बरमा कांग्रेसको चुनाव चिह्न हुनेछ । दोस्रो नम्बरमा एमाले, तेस्रोमा माओवादी केन्द्र, चौथोमा राप्रपा र पाँचौं नम्बरमा संघीय समाजवादी फोरमको चुनाव चिह्न परेको छ ।
चैत ६ गते ।