पर्यटन र कृषिलाई जोड्न धादिङमा ‘रोपाइँ महोत्सव’, ग्रामीण अर्थतन्त्र बलियो बनाउने लक्ष्य
काठमाडौँ, १५ असार । पर्यटनलाई कृषिसँग जोड्दै ग्रामीण क्षेत्रको अर्थतन्त्रलाई मजबुत बनाउने उद्देश्यका साथ राष्ट्रिय धान दिवस (असार १५) का अवसरमा धादिङमा विशेष ‘रोपाइँ महोत्सव’ आयोजना गरिएको छ। तीन दशकदेखि नेपालको ग्रामीण पर्यटन प्रवर्द्धनमा क्रियाशील गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–७ सुकौरा फाँटमा आइतबार यस महोत्सवको आयोजना गरेको हो।
महोत्सव ‘समुन्नत नेपालको प्राथमिक आधारः पर्यटन र कृषि नेपाली अर्थतन्त्रका जराधार’ भन्ने मूल नाराका साथ सम्पन्न भएको हो। भिटोफ नेपालका अध्यक्ष हरिशरण थपलियाले स्थानीय संस्कृति, परम्परा, रैथाने कृषि तथा ग्रामीण पर्यटनको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो महोत्सवले देशको आन्तरिक पर्यटन र ग्रामीण अर्थतन्त्रमा विशेष योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले पर्यटन र कृषिलाई स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बनाउनका लागि यस्ता रचनात्मक महोत्सव सहयोगी सिद्ध हुने बताउनुभयो। गाउँपालिकाका उपाध्यक्ष देवराज धरेलले स्थानीय तहले पछिल्लो समय पर्यटन विकासलाई मुख्य प्राथमिकतामा राखेर आफ्ना वार्षिक नीति तथा कार्यक्रमहरू तर्जुमा गरिरहेको जानकारी दिनुभयो।
भिटोफका संस्थापक महासचिव शम्भु पाठकले पर्यटन र कृषिलाई एकसाथ जोडेर गरिने यस्ता कार्यक्रमले ग्रामीण विकासमा टेवा पुर्याउने भन्दै सबै सरोकारवालाहरूलाई ग्रामीण पर्यटन अभियानमा सरिक हुन आग्रह गर्नुभयो।
महोत्सवमा भिटोफका प्रमुख सल्लाहकार आलोक प्रसाईं, सल्लाहकार दीपक दाहाल, पर्यटन महिला सञ्जालकी पूर्वअध्यक्ष निर्मला धमला, भिटोफका पूर्वअध्यक्षहरू बोधराज भण्डारी र शिव लामिछाने लगायतको सहभागिता रहेको थियो। यस महोत्सवले त्रिपुरासुन्दरी र वरपरका ग्रामीण पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसारमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।