बढ्दो रकमान्तरप्रति विकास समितिको आपत्ति

काठमाडौं । सांसदहरुले बढ्दो रकमान्तरप्रति आपत्ति जनाएका छन् । विकाससमितिका सभापति रविन्द्र अधिकारीले सरकारले बिभिन्न मन्त्रालयबाट ९९ अर्ब रुपैयाँ रकमान्तर गरेर राष्ट्रको ढुकुटीमा ब्रहृलुट मच्चाउन खोजेको आरोप लगाए ।
संसदको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद अधिकारीले निर्वाचन आचारसंहिता लागू हुनै लाग्दा चैत ४ गतेसम्म योजना नै नभएका ठाउँमा करीव एक खर्ब रुपैयाँ रकमान्तर गरेर आर्थिक अराजकता मच्चाइएको आरोप लगाए ।
उनले भने, ‘नियम अनुसार बढीमा १० प्रतिशतमात्र रकमान्तर गर्न पाइन्छ तर, आज ९९ अर्बभन्दा बढी रकमान्तर भएको छ । अर्थ मन्त्रालय आफैंमा आर्थिक अनुशासन मन्त्रालय हो तर, आज आर्थिक अराजकता मच्चाउने मन्त्रालय बनेको छ । योजना आयोग निरीह बनेको छ ।’
अधिकारीले सबैभन्दा बढी भौतिक पूर्वाधार मन्त्रालयबाट ४० अर्ब र सिंचाइ मन्त्रालयबाट ७ अर्ब रुपैयाँ रकमान्तर भएको दाबी गरे । त्यस्तै शहरी र शिक्षा मन्त्रालयबाट ५ अर्ब रकमान्तर भएको तथ्यांक उनले पेश गरे ।