काँग्रेस बैठकमा चर्को विवाद, सीमांकनको विषयमा नेताहरु दुई धारमा विभाजित

 

काठमाडौं । काँग्रेस बैठकमा विवाद चर्केको छ । प्रदेश नम्बर ५ को सीमांकन हेरफेरसहित संविधान संशोधनलाई प्रक्रियामा लैजाने कि सीमांकन रोकेर अघि बढ्ने भन्नेमा कांग्रेस नेताहरू दुई धारमा बाँडिएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने सदस्यहरूमध्ये केहीले पास(फेल जे भए पनि सरकारले पेस गरेको संशोधन प्रस्ताव प्रक्रियामा लैजानुपर्ने धारणा राखेका छन् भने केहीले प्रदेश सीमांकनलाई थाती राखेर अघि बढ्नुपर्ने बताएका छन् ।
बैठकको सुरुमै उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि र पूर्वउपप्रधानमन्त्री तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले यी दुई धारमा आफ्नो धारणा राखेका थिए । निधिले प्रदेश सीमांकनलाई नहटाई प्रक्रियामा लगेर मधेसी मोर्चालाई सन्तुष्ट बनाउनुपर्ने धारणा राखेका थिए भने सिटौलाले सीमांकनलाई तत्काल होल्ड गरी त्यसबाहेकका संशोधन प्रस्ताव पारित गरेर जानुपर्ने बताएका थिए । बैठकमा अधिकांश केन्द्रीय सदस्यले सीमांकनसहित संशोधन प्रक्रियामा जानुपर्ने बताएका थिए ।
बैठकमा जीवनबहादुर शाही, सुरेन्द्र पाण्डे, आनन्दप्रसाद ढुंगाना, उमाकान्त चौधरी, किरण यादवलगायतले संशोधन प्रस्तावलाई संशोधन नै नगरी प्रक्रियामा लैजानुपर्ने धारणा राखे । ुसरकारले ल्याएको संशोधन प्रस्तावलाई संशोधन होइन, जस्ताको तस्तै प्रक्रियामा लैजानुपर्छु, केन्द्रीय सदस्य ढुंगानाले भने, ुमोर्चालाई साथमा लिन नसक्ने हो भने चुनाव नै हुन सक्दैन । चुनाव त राजाले पनि गराएका थिए नि, यसमा पार्टी स्पष्ट हुन जरुरी छ ।ु
त्यस्तै केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, अर्जुननरसिंह केसी, मानबहादुर विश्वकर्मा, रमेश लेखक, दीपक गिरी, नवीन्द्रराज जोशीलगायतले भने एमाले तयार नभए संशोधन प्रस्ताव पास नहुने भएकाले सीमांकन होल्ड गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए । कार्कीले मधेसी मोर्चाका मागलाई सहमति हुनेसम्म सम्बोधन गरेर संविधान संशोधन प्रस्ताव अघि बढाउनुपर्ने बताएका थिए ।

चैत १५ गते ।