बेलायतव्दारा युरोपेली संघ छाड्ने औपचारिक पत्र हस्तान्तरण

ब्रसेल्स । ब्रसल्समा रहेका ब्रिटिश राजदूत सर टिम ब्यारोले युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कलाई लिज्बन सन्धिको धारा ५० लाई सक्रिय बनाउने एउटा चिठी दिएका छन्।
त्यो चिठीमा ब्रिटिश प्रधानमन्त्री थेरेसा मेले आगामी दुई वर्षमा ब्रिटेनको बहिर्गमनको प्रक्रिया अगाडि बढाउने विषयमा आफ्नो धारणा राखेकी छिन्।
धारा ५० सक्रिय भएसँगै उनले देश एउटा महत्वपूर्ण यात्रामा जान लागेको भन्दै संसद्लाई सम्बोधन गरिन्।
आगामी केही दिन भित्रमा युरोपेली संघले आफ्नो सुरुवाती प्रतिक्रिया दिंदै एउटा वक्तव्य जारी गर्नेछ।
त्यो वक्तव्य थुप्रै पृष्ठको हुनेछ र त्यसले ब्रिटिश प्रधानमन्त्री मेको पत्रको उत्तर दिंदै इयुका शर्तहरुको व्याख्या गर्नेछ।
तर इयुका २७ सदस्य राष्ट्रले कसरी वार्ता गर्नेछन् भन्ने कुरा एप्रिल महिनाको अन्त्यमा हुने शिखर सम्मेलनमा मात्रै निर्धारण हुनेछ।
त्यसैले प्रत्यक्ष वार्ता आगामी मे वा जुन महिनासम्म शुरु नहुन सक्छ।
सम्बन्धविच्छेद बारेको सहमति र भविष्यमा ब्रिटेन र इयुको सम्बन्धका बारेमा एकैचोटि वार्ता गर्ने कि एकपछि अर्को गर्ने भन्ने विषयमा शुरुमै मतभेद हुनेछ।
ब्रिटेनले तिर्न बाँकी के कस्ता ऋण तिर्नुपर्छ भन्ने विषयमा सबभन्दा ठूलो मतभेद हुन सक्छ।
चैत १७ गते ।