कोलम्बियामा भीषण पहिरो, २०६ जनाको मृत्यु , २२० जना बेपत्ता

कोलम्बिया । कोलम्बियामा भीषण पहिरो जाँदा कम्तीमा २ सय ६ जनाले ज्यान गुमाएको र थप सयौँ घाइते भएको सहायता निकायहरुले जनाएका छन्।
रातभरिको वर्षापछि पुटुमायो प्रान्तका नदीका किनार क्षेत्र भत्किएका थिए र बाक्लो माटो सहितको पहिरोले घरहरु बगाएको थियो।
रेडक्रसले कम्तीमा २२० जना बेपत्ता भएको र अरु २०२ जना घाइते भएको बताएको छ।
राष्ट्रपति खुवाँ म्यानुएल सान्टोसले घटनास्थलको निरीक्षण गरेका छन् र राष्ट्रिय आपतकालीन स्थिति नियन्त्रणका लागि फौजहरु परिचालन गरिएको बताएका छन्।
रोयेटर्स समाचार संस्थाले १,१०० भन्दा बढी सैनिक तथा प्रहरी अधिकारीहरु खोज तथा उद्धारमा सक्रिय रहेको जनाएको छ।
एक जना सैनिक अधिकारीले एउटा स्थानीय अस्पताललाई उक्त विपदसँग जुध्न हम्मे हम्मे परिरहेको बताए।
स्थानिय गभर्नर सोरल एरोकाले पूरै बस्ती सखाप भएको बताएकी छन्।
खोज तथा उद्धार कार्य निरन्तरको खराब मौसम र भत्किएका संरचनाले प्रभावित भइरहेको छ।करिब ८० प्रतिशत सडक क्षेत्रमा आवतजावत गर्न समस्या रहेको र पुलहरु पहिरोले बगाएको बताइन्छ।
मोकोआका मेयर होसे अन्टोनियो क्यास्ट्रोले उक्त नगरमा बिजुली र पानी समेत नरहेको बताएका छन्।
घटनास्थल पुगेका राष्ट्रपति सान्टोसले विपदमा ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।
उनले उक्त क्षेत्रमा संकटकाल लगाएको घोषणा गरेका छन्।
कोलम्बियाको एउटा स्थानीय समाचारपत्रका अनुसार नदीमा पानीको तह बढेपछि खतराको चेतावनी दिदैँ साइरन बजेको थियो जसका कारण मानिसहरु आफ्नो घर छाडेर सुरक्षित स्थानतर्फ गए र थप क्षति रोकियो।
उद्धारकर्ताहरुले १७ वटा बस्ती डुबानमा पुरेको जनाएका छन् र कयौँ घरको छाना समेत माटोले पुरिएको छ।
इक्वेडर र पेरुको सीमामा रहेको उक्त क्षेत्र कृषि तथा पेट्रोलियम उद्योगहरुमा निर्भर छ।
सन् २०११ यता यस पटक मार्च महिनामा कोलम्बियामा सबैभन्दा बढी पानी परेको अधिकारीहरुले जनाएका छन्।

चैत २० गते ।