एमालेका पक्षमा देशव्यापी चुनावी लहर, एमालेको जितलाई कसैले रोक्न सक्दैन : ओली

 


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब कुनै पनि बहानामा स्थानीय निर्वाचन नरोकिने र निर्वाचनमा एमालेकोे जितलाई कसैले रोक्न नसक्ने बताउनुभएको छ ।
नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीले आयोजना गरेको पार्टी सदस्यता शपथ ग्रहण तथा चुनावी अभियान शुभारम्भ समारोहलाई आइतबार राजधानीमा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
अध्यक्ष ओलीले राजधानीलगायत देशव्यापीरुपमा एमालेको पक्षमा चुनावी लहर आएको बताउँदै एमालेलाई अब कसैले चाहेर पनि कमजोर बनाउन नसक्ने र आम नेपाली जनता एमालेकै पक्षमा रहेको स्पष्ट गर्नुभयो ।

ओलीले भन्नुभयो, तपाईंहरुले देख्नु भएको छ, डुब्न लागेकाले त्यान्द्रोको सहारा खोज्छ । यहाँ एउटा दल अर्काेसँग मिल्न कुद्यो भन्ने सुन्नु भएको होला । एउटाले यहाँबाट दौडेर उताको त्यान्द्रो समात्यो । अर्काेले उताबाट दौडेर यताको त्यान्द्रो समात्यो । अव कसैले पनि कुनै त्यान्द्रो समातेर अवको चुनावमा एमालेसँगको प्रतिस्पर्धा, देशभक्तिसँगको प्रतिस्पर्धा गर्न सक्दैनन् । कार्यकर्ताले अरु पार्टी छोड्ने क्रम बढ्दो छ । एमाले प्रवेशको लहर छ । एउटा कार्यक्रममा पार्टी प्रवेश गर्नेको नाम पढ्न नसकेर फेरि अर्काे कार्यक्रम आयोजना गरेर प्रवेश गराउँछौं भन्नु परेको छ । पोखराको आमसभा तपाईंहरुले हेर्नु भयो होला, कतिपय सञ्चार माध्यमले दिन सकिरहेका छैनन् । 

अव हामी चुनाव जितेपछि थकाइ मार्छाैं, महानगरपालिका जितेपछि थकाइ मार्छाै । नगरहरु जितेपछि थकाइ मार्छाैं । एउटा मान्छे वडा अध्यक्ष, सदस्य मेयर हुन्छ भनेर यसो भनेको होइन । यो निर्वाचन एउटा विचार चुन्ने निर्वाचन हो । देश बचाउने शक्ति, देशलाई माया गर्ने, देशको शीर निहुरिन नदिने शक्ति एकातिर हुने निर्वाचन हो । एकातिर देशलाई माया गर्ने शक्ति छ, अर्कातिर तत्कालको फाइदा हेर्ने, स्वाभीमान नभएका शक्तिहरु छन् । तपाईंहरु हेर्दै जानुस् ।  मलाई अरु कसैका बारे टिकाटिप्पणी गर्नु छैन । देश असाधारण ध्रुवीकरणको दिशामा छ । एकातिर देशको स्वाभीमानको पक्षमा, आफ्नो निर्णय आफैं गर्ने पक्षमा उभिने शक्ति छ । अर्काेतिर केही दलहरु र ती दलका नेताहरु दललाई पनि गलत दिशामा लतारेर आफ्नो स्वार्थका पछाडि हिंडाइरहेका छन् । हामी विविधतायुक्त देशमा छौं, तिनलाई राष्ट्रिय एकताको चिन्ता छैन । हामी भाषिक होस् कि, जातीय होस् कि, जैविक होस् कि, भौगोलिक होस् कि, सांस्कृतिक होस् कि, विभिन्न प्रकारको विवधताको देशमा छौं । हामी ती सबै विविधतालाई सँगै अगाडि लिएर जाने पक्षमा छौं । तर, केही तत्वहरुको ध्यान त्यतापट्टि छैन । 

ती तत्वले जात जातका कुरा उछाल्दिए पनि भएको छ, भूगोल भूगोलका कुरा उछाल्दिए पनि भएको छ । एउटा ठूलै पार्टीका नेताको भाषण दिनदिनै आएको छ– एमालेले राष्ट्र बिखण्डन गर्ने भो रे । एमालेले हिमाल, पहाड र तराईका जनतामा फाटो पार्ने भो रे । के बोल्ने भन्ने पनि थाहा छैन तिनलाई । एमाले राष्ट्र बिखण्डनको पक्षमा छ भनेर बोल्दा नेपालमा कसैले पत्याउला ? एमाले सामाजिक सद्भावको पक्षमा छैन बैरभावको पक्षमा छ भन्दा यो दुनियाँमा कसैले पत्याउला ? सम्प्रदायिकता उछालेर हिंड्ने, भौगोलिकता उछालेर हिंड्ने, एउटा प्रहरी नियुक्ति गर्नु पर्यो भने जस्तोसुकै भए पनि मेरो गाउँको मान्छे चाहिन्छ भन्दै हिंड्नेले सिंगै देश छातीमा भएको एमालेलाई, सिंगै देश दिमागमा भएको एमालेलाई, सिंगै जनताको समृद्धि दिमागमा बोकेको एमालेलाई देश बिखण्डन गर्न लागेको छ भन्दा कसले पत्याउँछ ? छुद्र, उल्टा र अशोभनीय आरोप लगाएर कसले पत्याउँछ ? 

हामी राष्ट्रिय एकताको पक्षमा छौं । सामाजिक सद्भावको पक्षमा छौं । हामी लोकतन्त्रको पक्षमा छौं । लोकतन्त्र कसैले ल्याइदिएर हामीले उपभोग गरेका होइनौं । बलिदान गरेका छौं हामीले त्यसका लागि । लोकतन्त्रका लागि हामीले जेलनेल खपेका छौं । रगत पसिना बगाएका छौं । भूमिगत बसेका छौं । दुख कष्ट ब्यहोरेका छौं । आर्थिक अवस्था बिगारेका छौं । धेरै मुल्य चुकाएर हामीले लोकतन्त्र प्राप्त गरेका हौं । त्यसकारण लोकतन्त्रको सुदृढिकरण र प्रयोग लोकतान्त्रिक हुन सकोस्, एमाले त्यो चाहन्छ । लोकतन्त्र कानुनको शासन हो, विधिको शासन हो । राजनीतिका नाममा आपराधिक गतिविधि गर्ने, लोकतन्त्र हुँदैन भन्ने । लोकतन्त्रका ठाउँमा ९०–९२ प्रतिशतले कहाँ संविधान जारी गर्न पाइन्छ, हामीले भने अनुसार हुनु पर्छ भन्ने तत्व छन् यहाँ । यस्ता जिद्दी संसारमा दिमाग सन्चो भएका कुनै पनि मान्छेले गर्दैन । लोकतन्त्रमा केही थिति, विधि हुन्छन् । तिनै थिति विधि अनुरुप प्रणाली चल्छ । त्यसका प्रक्रिया हुन्छन् । त्यही प्रक्रिया अनुसार निर्णय हुन्छ र समाज अघि बढ्छ । 

कतिपय विदेशीहरु छन् । लोकतन्त्रको कुरा नगरेर सबैलाई चित्त बुझाउनु पर्यो भन्छन् । तिनका आफ्नै देशमा प्रतिपक्ष किन छ ? तिनका आफ्नै देशमा सर्वसम्मती किन छैन ? तिनका आफ्नै देशमा सर्वसम्मती नभएर चुनाव किन हुन्छ ? तिनका आफ्नै देशमा किन विभिन्न उम्मेदवार उठ्छन् ? तिनका आफ्नै देशमा चुनावमा हार र जित किन हुन्छ ? सबैले त मानेनन् । अनि नेपालमा आउँछन् , ती कुरा गर्दैनन् । सबैलाई मनाउनु पर्यो नि भनेर हामीलाई उपदेश दिन खोज्छन् । यी बेग्लै उद्धेश्यका साथ आएका तर्कहरु हुन् । हामी सही कुरामा, देशका निम्ति ठीक कुरामा, जनताका भलाई हुने कुरामा सहमत हुन्छौं, अरु कुरा मान्दैनौं । 

नेपालमा केही तत्वहरु छन्, गरिवी हटाउने, समृद्धि ल्याउने कुरा गर्दैनन् । विकासको कुरा गर्दैनन् । तिनीहरु जातका कुरा गर्छन् । अधिकारको लडाईँ भन्छन् । के अधिकार चाहियो ? के पाइएन, त्यो भन्दैनन् । संविधानमा के अधिकार छैन, त्यो भन्दैनन् । संविधानमा के छ, छैन पनि मतलव छैन । जनतालाई भ्रम फिंजाउन अधिकारको लडाईं भन्छन् ।  तर, अधिकारको लडाईं जनताले गरिसके, जनताले अधिकार प्राप्त गरिसके । त्यसैले आज हामी लोकतान्त्रिक गणतन्त्रमा छौं । राजा महाराजाले होइन, जनताले छानेका प्रतिनिधिले शासन गर्ने पद्दतिमा छौं हामी । तपाईंहरु सुनिरहनु भएको छ, यो पद्दतिमा निर्वाचन हुन दिंदैनौं भनिरहेका छन् । 

निर्वाचन भयो भने प्रतिनिधि छानिन्छन्, छानिएका प्रतिनिधिले निर्णय गर्छन् । त्यस्तो हुन पाउँदैन, हामी जे भन्छौं त्यो पो निर्णय हुनु पर्छ भन्छन् । केही मान्छेहरु यस्ता छन् । यसो भएन भने निर्वाचन बिथोल्छौं, उसो भएन भने निर्वाचन हुन दिंदैनौं । यिनै तत्वहरु छन् । एउटा पीएचडी गरेकै मान्छे । तिनैले गर्दा आज १५ वर्षसम्म नेपालमा स्थानीय निकायमा जनप्रतिनिधि छैनन् । तिनकै बुद्धिले नेपालमा निर्वाचन भएन । तिनकै बुद्धिले नेपालमा १७ हजार मान्छे मारिए । अव मान्छे मार्ने बाटो छोडियो भन्ने घोषणा गरेर निर्वाचन कसरी हुँदैन, ती त्यता कुदेका छन् । जो जो निर्वाचन हुँदैन भन्छ त्योसँग खोजेर एकता गर्दैछन् । म तिनीहरुलाई भन्न चाहन्छु– अव यस्ता तत्वहरुले निर्वाचन भाँड्न सक्दैनन् । निर्वाचन हुन्छ हुन्छ । तिनीहरुको सबै ठाउँमा जमानत जफत हुन्छ । उनलाई डर त्यसको छ । हावा भरिएको तिनको बेलुनको हावा चुनावमा बाहिर निस्कन्छ । फुलेको बेलुन हावा खुस्किएपछि के हुन्छ ? त्यसैले तिनीहरु चुनावको विरोधमा छन् । 

उनीहरु पैसा खोज्छन्, हामी समृद्धिको बाटो ।  स्थानीय तहलाई अधिकार सम्पन्न बनाइएको छ । अधिकार जनतामा ल्याइएको छ । यसलाई कार्यान्वयन हुन नदिने कोसिस भइरहेको छ । हामी जनताका यी अधिकारको रक्षामा जनताबीच जान्छौं । उनीहरु भ्रम बोकेर जनतालाई अँध्यारोमा राख्न चाहन्छन् । हामी जनतालाई सबै कुरा छर्लङ्ग बनाएर बाटो देखाउन खोज्छौं । उनीहरु केही मान्छेले पैसा कमाउने बाटो बनाउन खोज्छन् । हामी देशलाई समृद्ध बनाउने बाटो खोज्छौं । अरुसँग हाम्रो भिन्नता यही छ । एमालेले अरु एकतातिर छन् एमाले एकातिर छ भनेर अनौठो मान्नु पर्दैन । ६३ जना मान्छे भएका ६२ वटा पार्टीले चुनाव नमानेको हल्ला चलाउन अस्ति वालुवाटारमा डेलिगेशन थियो रे । जनता अल्मल्याउने कुरा हो यो । एउटा एमाले एकातिर छ भनेर हल्ला चलाउँछन् । अर्काेले भन्छ– ६२ वटा पार्टीले त बहिस्कार गरेको छ । एमालेका कुनै पनि कार्यकर्ताले यस्ता कुराको भ्रममा पर्नु हुँदैन । एमालेले यो देश बचाउनका लागि, यस देशलाई एकता र समृद्धिको बाटोमा लैजानका लागि, नेपाली जनताका दुखका दिन हटाउनका लागि काम गर्छ । 
हामीले पहिलो किस्ता रकम वितरण गर्न थालेपछि त्यसलाई बिथोल्न कांग्रेस र माओवादीले भूकम्प पीडितलाई एकमुष्ट किस्ता दिनु पर्छ भनेर संसद अवरोध गरे, तपाईंहरुलाई सम्झना होला । तर, अहिले पनि जनता प्लाष्टिकको पालमुनी छन् । पहिलो किस्ता पनि अहिलेसम्म बाँड्न सक्या छैनन् । यो सरकारले भूकम्प पीडितका लागि केही पनि गरेन । एउटा भाषा छ खोकेको भन्ने । प्रधानमन्त्री हुने वितिक्कै प्रधानमन्त्रीले खोके– ४५ दिन भित्र पैसा बाँडिसक्छु । ४५ दिन होइन, नौ महिनामा केही पनि गरेनन् । नेपाली कांग्रेसका विषयमा त केही भन्नै परेन । मैले अस्ति पनि भनेँ । देख्दा हट्ठाकट्ठै छ कांग्रेस तर, त्यो विचरा झाडीमा पसेको बाह्रसिंगे जस्तै भएको छ । कतै चल्मलाउन सक्दैन । सिङ अल्झेको छ । यसको सिङ देशभित्र मात्रै होइन । विदेशमा पनि अड्केको छ । मोर्चामा अड्केको छ, माओवादीमा अड्केको छ, बाबुराममा अड्केको छ । कहाँ अड्केको मात्रै फुकाउनु । सिङ अल्झेरै हल न चल छ विचरा । कांग्रेसका साथमा अव भ्रम फिजाउने बाहेक केही उपाय छैन । माओवादीले पुच्छर समाएर वैतरणी तर्न खोज्छ । माओवादीको सम्बन्धमा मैले केही भन्नै पर्दैन । 
एमालेबाट उठेको बाहेक अरु कुनै उम्मेदवार भोट हाल्न उपयुक्त नै हुँदैनन् । किनभने एमाले बाहेक अरुको नीति, गन्तब्य नै गलत छ । यो देश विकसित हुनु पर्यो कि परेन ? स्वाभीमान रहनु पर्यो कि परेन ? यस देशका युवा जीवन खोज्न मरुभूमिमा जानु परेको छ । जनता अल्मल्याइएको छ । सुन र पित्तल हेर्दा उस्तै हुन्छ । त्यसैले पित्तललाई सुन बनाउने कोसिस हुन्छ । 

हाम्रो समाज कस्तो छ भने एकपल्ट लागेपछि त्यतैतिर लागौं भनेर बस्छ । तर, अव यसरी समृद्धि आउँदैन । हिजो नेपाली कांग्रेसमा झुक्किएर लागियो । विश्वेश्वर कोइरालालाई देखेर लाग्या, गणेशमान सिंहलाई देखेर लाग्या । अहिलेकालाई देखेर लाग्या हो र ? बीपी हेरेर कांग्रेसमा लागेको मान्छे अहिलेकोलाई हेरेर त्यहीँ बस्ने ? हिजो नेपाली कांग्रेसको बैंस थियो, बहुमत ल्याउँथ्यो, दुईतिहाई ल्याउँथ्यो । तर, अहिले उ झाडीमा अल्झेको छ । देश बनाउनु परेको छ यहाँ । झाडीमा अल्झेको कांग्रेस पर्खेर हुन्छ ? 

पूर्वाञ्चलतिर पहिले मेला लाग्थ्यो । मेलामा युवा युवती जान्थे । युवाहरुले बदमासी गर्थे, खल्तीमा यसो सिन्दुर लुकाएर जान्थे । मन परेकी केटीको नजिक पुगेपछि यस्सो टाउकामा सिन्दुर फ्याकेर गुटुटु भाग्थे । माइतीलाई के आपत पथ्र्याे भने कसले सिन्दुर हाल्दिएको हो खोजेर बिहे गर्दिनु पथ्र्याे । तर, अव जमाना परिवर्तन भइसक्यो । अव झुक्याएर सिन्दुर हाल्दिएर कांग्रेस बनाएर हुन्छ ? अहिलेको जमानामा झुक्याएर सिन्दुर हालेर जीवनभर त्यही पार्टीमा बस्छु भनेर हुन्छ । अव त कांग्रेसको सिन्दुर टक्टक्याएर, साबुनले धोएर एमालेमा आउनु पर्छ । हिजो जागिर दिन्छु भनेर सिन्दुर हालेको, अनेक प्रलोभन दिएर हालेको सिन्दुर पखाल्नुस् । स्याउला हल्लाउन छोड्नुस् । यो ७४ सालमा तीनवटा चुनाव हुँदैछ । यो साल एमालेमय नेपाल हुनेछ । 
आउँदो बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा ७४४ स्थानमध्ये ५ सयभरुन्दा बढी स्थानमा एमालेले जित्ने निश्चित भइसकेको छ ।


उता विभिन्न पार्टी परित्याग गरी ३० जना एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले अर्घाखॉची(काठमाण्डौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनीहरु प्रवेश गरेको मञ्चका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

एमाले उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री भीम रावलको पार्टी प्रवेश गरेकालाई माला लगाई स्वागत गर्नुभएको थियो । एमालेमा प्रवेश गरेका सबै अर्घाखाँचीका हुन् ।

पार्टी प्रवेश गर्नेहरु

१. टेकराज पोखरेल पणेना- ९ माओवादी केन्द्र अर्घाखाँची
२.  माधवराज पोखरेल पणेना-७  माओवादी केन्द्र अर्घाखाँची
३.  रामप्रसाद पोखरेल पणेना -५ नेबिसंघ जिल्ला सदस्य अर्घाखाँची
४ . शिवहरी पोखरेल पणेना -९ पार्टी सदस्य माओवादी केन्द्र अर्घाखाँची
५ . तिलकराम पोखरेल पणेना- ९ पार्टी सदस्य माओवादी केन्द्र अर्घाखाँची
६ . प्रकाश पोखरेल पणेना -९ पार्टी सदस्य माओवादी केन्द्र अर्घाखाँची
७ . ताराप्रसाद पोखरेल पणेना- ९ पार्टी सदस्य माओवादी केन्द्र अर्घाखाँची
८ . रुद्रप्रसाद पोखरेल पणेना- ९ पार्टी सदस्य माओवादी केन्द्र अर्घाखाँची
९ . कविराज पोखरेल पणेना-६ पार्टी सदस्य माओवादी केन्द्र अर्घाखाँची
१० . बिष्णुहरि पोखरेल पणेना -९ पार्टी सदस्य माओवादी केन्द्र अर्घाखाँची
११ . भोजराज पोखरेल पणेना-९ पार्टी सदस्य माओवादी केन्द्र अर्घाखाँची
१२ . चिरन्जिबि पोखरेल पणेना- ९ पार्टी सदस्य माओवादी केन्द्र अर्घाखाँची
१३ . नमराज पोखरेल पणेना-९ नेपाली कांग्रेस पार्टी सदस्य
१४ . लक्ष्मण पोखरेल पणेना-९ नेपाली कांग्रेस पार्टी सदस्य
१५ . कृष्णप्रसाद पोखरेल पणेना-९ राप्रपा नेपाल
१६ . नारायणप्रसाद पोखरेल पणेना-८ पार्टी सदस्य माओवादी केन्द्र अर्घाखाँची
१७ . टेकराज पोखरेल पणेना-९ पार्टी सदस्य माओवादी केन्द्र अर्घाखाँची
१८ . राजन पौडेल धातिवाङ -८ नेपाली कांग्रेस
१९ . हरिप्रसाद पोखरेल पणेना-६ माओवादी केन्द्र  लगाएत ३० जना

स्थानीय संरचना अनुसार सम्पर्क मञ्च आयोजक कमिटी गठन

यसैबीच, जिल्लाको स्थानीय संरचना अनुसार सम्पर्क मञ्च आयोजक कमिटी गठन गरिएको छ । स्थानीय पुन: संरचना अनुसार अर्घाखाँचीमा ३ गाउँपालिका र ३ नगरपालिका कायम गरिएको छ ।

१. सन्धिखर्क नगरपालिकामा यादव भुसालको संयोजकतवमा २१ सदस्यीय कमिटी गठन भएको छ ।

२. भूमेकास्थान नगरपालिका मा ठाकुर गौतमको संयोजकतवमा १५ सदस्यीय कमिटी भएको छ ।

३. सितगंगा नगरपालिकामा कुलराज खनालको संयोजकतवमा १३ सदस्यीय कमिटी गठन भएको छ ।

४. छत्रदेव गाउँपालिकामा कविराज पोखरेलको संयोजकत्वमा १३ सदस्य कमिटी गठन भएको छ ।

५. मालारानी गाउँपालिकामा प्रितम मिश्रको संयोजकत्वमा २७ सदस्य कमिटी गठन भएको छ ।

६. पाणिनी गाउँपालिकामा मनिराम अधिकारीको संयोजकत्वमा १३ सदस्य आयोजक कमिटी गठन भएको छ ।

उक्त कार्यक्रममा क्षेत्रीय सम्पर्क मन्च क्षेत्र नं १ द्वारा प्रकाशित २०७४ सालको भित्तेपात्रो विमोचन तथा वितरण गरिएको थियो ।